सिमकार्ड रिसाइकल गर्ने व्यवस्थाले जोखिम बढाउँदै, प्रदायक भन्छन्– सजक हुनुको विकल्प छैन

तपाईँको हात हातमा मोबाइल त पक्कै होला ? तपाईँले प्रगोग गर्ने सिमको बारेमा चाहीँ कत्तिको चनाखो हुनुहुन्छ ? तपाईँले कुन सिम कुन प्रयोजनको लागि सिम प्रयोग गर्दै हुनुहुन्छ ? तपाईँले लिनुभएको सिमकार्डको प्रयोग भ्वाइस कल र एसएमएसमा मात्रै सीमित छ भने त ठिकै छ । तर यसको अलावा अन्यत्र ठाउँमा पनि प्रयोग गर्नुभएको छ भने तपाईँ सजक बन्नैपर्छ ।

तपाईँले सिमकार्डकै माध्यमबाट मोबाइल बैंकिङ, डिजिटल वालेट अथवा विभिन्न सामाजिक सञ्जाल लगिन गर्नुभएको छ ? यदि त्यसो हो भने तपाईँले माथि उल्लेखित सेवाहरुको उपयोग गरिरहनुभएको सिमकार्ड प्रयोग गर्न छाड्नुभयो या अरु कसैलाई दिँदै हुनुहुन्छ ? त्यसो हो भने चाहीँ तपाईँ धेरै कुरा सोच्नैपर्छ । विचार पुर्याउनैपर्छ । यसले तपाईँ डाटाहरु ह्याक हुने वा प्राइभेसी भंग हुने जोखिम बढेको छ । किनभने दूरसञ्चार सेवाप्रदायकहरूले ६ महिनाभन्दा बढी समयदेखि प्रयोगविहीन सिमकार्ड अन्य व्यक्तिलाई वितरण गर्ने गरेको छ ।

साइबर अपराध बढ्ने जोखिम

एउटा व्यक्तिको नाममा रहेको सिमकार्ड प्रयोग हुन छाडेको केही समयपछि अर्को व्यक्तिको नाममा जारी हुनुले साइबर अपराध बढ्ने जोखिम निम्त्याएको छ ।

यदि तपाईँले छोटो समयको लागि एनसेलको सिमकार्ड लिनुभयो र पछि त्यसको प्रयोग गर्न छाड्नुभयो अनि त्यसैबाट माध्यमबाट मोबाइल बैंकिङ, डिजिटल वालेट अथवा विभिन्न सामाजिक सञ्जाल लगिन गर्नुभएको छ भने यी कुराहरु सजिलै दोस्रो व्यक्तिले ह्याक गर्न सक्नेछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७१ चैत २ गते छ महिनासम्म प्रयोगविहीन सिमकार्डलाई सेवाप्रदायकले निष्क्रिय गर्न सक्ने व्यवस्था लागू गर्यो । पछि २०७७ भदौमा उक्त व्यवस्थामा थप परिमार्जन गर्दै एक वर्षसम्म निष्क्रिय सिमकार्ड बेच्न नपाइने र सो समय पुगेपछि भने सेवाप्रदायकले बेच्न सक्ने व्यवस्था गरिएको थियो । प्राधिकरणको यही व्यवस्थाको प्रयोग गर्दै सिमकार्ड बिक्री गरिएको सेवाप्रदायकहरू बताउँछन् ।

कोही व्यक्तिले एक वर्षदेखि सिमकार्डमा ब्यालेन्स हाल्न छोड्छ अथवा नचलाई राखिदिन्छ भने सिमकार्डको अवधि सकिन्छ । त्यसपछि त्यो सिमकार्ड टेलिकम कम्पनीले अर्कै प्रयोगकर्तालाई दिन्छ । हो एनसेलले पनि सिमकार्डको अवधि सकिएको ६ महिना सकिँदा पनि सिमकार्ड प्रयोगमा आएन भने त्यसैगरी त्यो सिमकार्ड अर्कै व्यक्तिलाई दिने गरेको छ ।

नाम नबताउने सर्तमा एक जना प्रयोगकर्ताले अर्थसञ्जालसँग दुखेसो पोखे, ‘मैले करिब ४ वर्ष अगाडि एनसेलको सिम लिएको थिएँ । केही काम विशेषले विदेश गए। तर म फर्कदासम्म मेरो नाममा भएको सिम अर्कैले पाइसकेको थियो । मेरो बैंक खाता, फेसबुक लगायत सबैतिर त्यही नम्बर थियो । जसको कारण मेरो फेसबुक समेत ह्याक भयो । अहिले फेसबुक त फर्काएँ तर अनेक झन्झट व्यहोर्नुपर्यो । यो नीति नै गलत छ । बरु एउटा व्यक्तिलाई एउटाभन्दा बढी सिमकार्ड नै नदिनु नि । एउटाको नाममा जारी भइसकेको सिमकार्ड फेरि रिसाइकलको नाममा अर्कोलाई किन दिनु ?’

सुरुमा एनसेलको सिमकार्डको विषयमा त्यति धेरै जानकार नहुँदा धेरै सास्ती व्यहोर्नुपरेको उनले सुनाए । यसो हुँदा सेक्युरिटी जोखिम बढ्दै गएको छ । एउटै व्यक्तिले आवश्यकता भन्दा बढी सिमकार्ड लिने र फ्याकिदिने या प्रयोग गर्न छाडिदिने प्रवृत्तिका कारण यस्तो समस्या देखिएको जानकारहरू बताउँछन् ।

एउटा व्यक्तिको नाममा जारी भइसकेको सिमकार्ड फेरि त्यो व्यक्तिले चलाउन छाड्दा अर्कै व्यक्तिको नाममा जारी गर्दा समस्या देखिएको नेपाल दुरसञ्चार प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने पनि स्वीकार्छन् । ‘पहिले प्रयोग गर्यो अनि ६ महिनासम्म चलाएन भने पछि अर्कोले चलाउने हुँदाखेरि चाहीँ त्यसको दुरुपयोग हुने जोखिम बढेको छ । जस्तो कोही कर्माचारी नै होला । उसले सञ्चयकोषमा त्यो नम्बर राखेको छ । उसले पछि गएर त्यो नम्बर चलाउन छाड्यो र त्यो सिमकार्ड दोस्रो व्यक्तिले लिइदियो भने सञ्चयकोषको पैसा चाहीँ त्यही दोस्रो व्यक्तिकोमा जान्छ । त्यस्तोखालको समस्या चाहीँ देखिएको कुराहरु कहिलेकाहीँ आउने गरेको छ ।’

यी खालको समस्याबाट सम्बन्धित व्यक्ति आफैँ चनाखो रहनुपर्ने उनी बताउँछन् । ‘कसैले आफूले प्रयोग गर्न छाडेको सिमकै माध्यमबाट मोबाइल बैंकिङ, डिजिटल वालेट अथवा विभिन्न सामाजिक सञ्जाल लगिन गरेका छन् भने त्यसमा हाल आफूले प्रयोग गरिरहेको सिमकार्डको नम्बर अपग्रेड गर्नुपर्यो या आइडी नै चेन्ज गर्नुपर्यो । सजक नबन्दा यो नीतिले सेक्युरिटीको चाँही अलिक समस्या छ ।’

उनी थप्छन्, ‘यो नीति बनेको करिब २ वर्षजति भयो । त्योभन्दा अगाडि चाहीँ कुनै व्यक्तिको नाममा सिम रहेको सिमकार्ड लामो समय प्रयोगविहीन भएमा डिएक्टिभ हुन्थ्यो । त्यसरी राख्दा नम्बरको रेन्ज बढ्ने सम्भावना पनि भयो अपरेटरहरुको । त्यसो हुँदा पछिल्लो समय लामो समय प्रयोग नभएका सिमकार्ड अर्कै व्यक्तिलाई दिइन्छ । अहिले सिमकार्ड सस्तो छ । मान्छेले सिम ल्याउँछन् प्रयोग गर्छन् र फाल्दिन्छन् । त्यसो हुँदा यो नीति ल्याइएको हो ।’

दूरसञ्चार सेवाप्रदायकहरूले सिमकार्ड रिसाइकल गरेर बिक्री गर्दा अहिले हजारौँ प्रयोगकर्ता त्यसको जोखिममा छन् । पछिल्लो समय पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, नागरिक एपजस्ता संवेदनशील सरकारी परिचयपत्रमा मोबाइल नम्बर नै अनिवार्य गरिएको हुन्छ । यसरी एक वर्षपछि नै बिक्री गर्न पाइने नीतिले झन् ठूलै जोखिम निम्त्याउन सक्छ ।

नेपाल टेलिकमको सन्दर्भमा पोस्टपेड सिमकार्डमा बढी समस्या देखिएका छन् । पोस्टपेड सिमको क्रेडिट अवधि एक वर्षको मात्र हुने भएकाले ब्यालेन्स शून्य भएको दिनदेखि एक वर्षपछि उक्त सिमकार्ड टेलिकमले बिक्री गर्छ तर प्री–पेड सिमकार्डको हकमा भने क्रेडिट अवधि दुई वर्षसम्म हुने गर्छ ।

सिमको प्रयोग भ्वाइस अथवा एसएमएसको लागि मात्र प्रयोग गरेर अन्य कुरा चाहीँ बरु इमेलबाट खोलेमा भने यस्तो समस्याहरु नआउने उनी बताउँछन् ।

विदेश जाने प्रयोगकर्ताको हकमा के हुन्छ ?

विदेश जाँदा सँगै लिएको सिम चल्तीमा हुँदैन। यस्तो अवस्थामा पनि सिमको आयु थप्न सकिन्छ । टेलिकमले विदेशबाटै पनि विभिन्न माध्यमबाट रिचार्ज गरेर अवधि थप गर्न सकिने जानकारी दिएको छ ।

समस्या आए के गर्ने  ?

सकभर त हामीले आफ्नो नाममा भएको सिम दुरुपयोग हुन नदिन त्यो सिमको प्रयोगलाई नै निरन्तरता दिनुपर्ने हुन्छ । यदि त्यो सिम नचाउने नै हो भने पनि त्यो सिमबाट लगिन भएका चिजहरुमा अब आफूले प्रयोग गर्ने नम्बर प्रयोग गर्नुपर्छ ।

यी माथि सम्भावित जोखिमबाट बच्न प्रयोगकर्ता आफैँ सचेत बन्नुपर्ने प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेल बताउँछन् । प्राधिकरणका उप–निर्देशक समेत रहेका लामिछाने समस्या आएको खण्डमा साइबर ब्यूरो अथवा प्राधिकरणमा उजुरी दिन सुझाउँछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *