अब वैदेशिक रोजगारीमा जानेले अनिवार्य परिवारको स्वास्थ्य बीमा गर्नुपर्ने

अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले आफ्नो परिवारका सदस्यको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ । सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत यस सम्बन्धी कार्यविधि तयार पारेर अनिवार्य स्वस्थ्य बीमाको नीति लागु गर्न खोजेको हो ।

‘बोर्डका सूचना अधिकारी सोभित रिजालका अनुसार वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि उनिहरुको परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८ तयार भएर कार्यान्वयनको चरणमा रहेको छ । उनले भने– ‘वैदेशिक रोजगारमा जाने व्यक्तिले आफ्नो परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्नैपर्ने गरी कार्यविधि बनिसकेको छ । ऐनमा पनि यसको व्यवस्था भइसकेको हुँदा दसैं लगत्तै कार्यान्वयन गर्ने तयारी भइरहेको छ ।’

कार्यविधि अनुसार यो व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगार विभागसँग सहकार्य गर्ने भएको छ । यो व्यवस्था लागु भएसँगै परिवारको स्वास्थ्य बीमा गरिसकेपछि मात्रै कुनैपनि व्यक्तिले वैदेशिक रोजगारीको लागि स्वीकृति पाउँनेछ ।

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिको परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गरेसँगै स्वास्थ्यमा उनीहरुको सहज पहुँच हुने बोर्डले विश्वास लिएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्ति र उनीहरुको परिवारको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै यो व्यवस्था लागु गर्न खोजिएको बोर्डले जनाएको छ ।

बैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य बीमा अनिवार्य गरिएपछि स्वास्थ्य बीमाको दायरा अझै बृद्धि हुनेछ भने विदेशमा पुगेका नेपाली युवाहरुको घर परिवारको स्वास्थ्य उपचारको जिम्मेवारी बोर्डमार्फत राज्यको काँधमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *