काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँबराबरको २५ लाख ८० हजार कित्ता सेयर बिक्री अनुमति पाएको छ। त्यसमध्ये ८ करोड ६० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरिएको छ।
स्थानीयलाई छुट्याइएको सेयरमध्ये ३ लाख ४४ हजार कित्ता आयोजना अतिप्रभावित सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ का स्थानीयलाई र त्यसपछि बाँकी ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदूधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाका स्थानीयका लागि बिक्री खुला गरिएको छ।
सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ७२ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरिएको छ।
आईपीओमा दुवै समूहले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितका स्थानीयका लागि यो आईपीओको निष्कासन बन्द छिटोमा वैशाख ३१ र ढिलोमा जेठ १८ सम्म रहनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आइपीओ निष्कासन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ सम्म रहेको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ।






