नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी मंसिर २२ र २३ गते हुने ४५ औं वार्षिक साधारण सभा हुँदैछ । सभाले नयाँ कार्यसमितिको निर्वाचन पनि गर्दैछ । निर्वाचनका अध्यक्ष पदका उमेदवार ध्रुबबहादुर थापासँग संघको ४५ औं साधारण सभा र उहाँको उमेदवारीसँग सम्बन्धित रहेर गरेको कुराकानीको अंश :
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारण सभाको तयारी कस्तो हुँदैछ ?
वार्षिक साधारणसभाको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । नोमिनेशनको प्रक्रियाहरू भोलिबाट सुरु हुँदैछ । यस विषयमा छलफल गर्न भोलि हाम्रो कार्यसमितिको बैठक पनि छ । यसमा हामीले योजना अनुसारनै तयारी गरिरहेको छौँ ।
आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । तपाईँको एजेण्डाहरू के—के हो ?
मेरो प्रमुख एजेण्डा नाडालाई संस्थागत रूपमा बलियो बनाउने हो । नाडाको सरकारसँगको सम्बन्धलाई अझै मजबुत बनाउने मेरो मुख्य उदेश्य हो । हामी अहिले प्रदेश संरचनामा गएका छौँ । तर प्रदेशहरूले अधिकार पाएको छैन् । उनीहरूलाई अधिकार प्रदान गर्ने । नाडाको अटो सोलाई काठमाडौँमा मात्र होइन सबै प्रदेशहरूमा विस्तार गर्ने । नाडालाई प्रविधिमैत्री बनाउने, मेरो मुख्य एजेण्डाहरू त्यही हो ।
नाडा संघीय संरचनामा जाँदा निर्वाचन गर्न कतिको सहज वा जटिल छ ?
हामी यसमा पहिलो अभ्यास गर्दैछौँ । यति ठूलो रूपमा हालसम्म चुनाव भएको थिएन । चुनाव गर्न केही चुनौतीहरू चाहिँ छ । तर पनि अध्यक्ष ज्यूले म जसरी पनि चुनाव गराउँछु भनेर अगाडि बढ्नुभएको छ । स्वच्छ र निष्पक्ष चुनाव गराउँछु भनेर भन्नुभएको छ । यसमा हाम्रो पनि सक्दो साथ रहने छ । ठूल–ठूला चुनावहरू भैरहेका हुन्छन्, हाम्रो त ३ हजार—३२ सय हो यसमा खासै बाधा नआउला ।
यसपटक प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा हुँदैछ, यसो गर्दा व्यवसायीहरूमा दूरी बढ्दैन् ?
हाम्रो संस्था प्रजातान्त्रिक संस्था हो । यसले चुनावमा केही पक्ष विपक्ष देखिए पनि तर चुनावपछि त्यस्तो हुँदैन् । हामी सबै व्यवसायीहरू एउटै हौँ । त्यसैले पछि यसमा कुनै मतभिन्नता हुँदैन । यो प्रजातान्त्रिक अभ्यास मात्रै हो ।
तपाईँले अध्यक्षमा जित्ने आधारहरू के—के छ ?
आधार त अब हाल बजारको माहोलले पनि बताएको होला । तपार्इँहरूले पनि अनुमान गर्नुभएको होला । देशव्यापी रुपमै हाम्रो टिमको पक्षमा समर्थन आएको छ । अब सबैको कुरा सुन्ने नेतृत्व आउन पर्छ भन्ने सबैको भावना छ । हामीले जित्छौँ भन्ने निश्चित नै छ । हाल नाडामा ९० प्रतिशत जति सर्वसाधारण व्यवसायीहरू छौँ । सबैलाई नयाँ नेतृत्व आउन पर्छ भन्ने छ । यस आधारमा पनि मैले जित्ने निश्चित छ ।
नाडामा के—के समस्याहरू छन् ? कस्तो पक्षलाई सुधार्न पर्ने देख्नुहुन्छ ?
नाडामा म दुई कार्यकाल उपाध्यक्ष भैसकेको छु । यसमा मुख्य समस्या भनेको हामी जुन संघीयता अनुसारको संरचनामा गइरहँदा यसले पूर्णता पाइसकेको छैन् । व्यवसायीमैत्री भइएन भन्ने आएको छ । समुहभित्रको समस्या मात्र समाधान गर्ने तर आम व्यवसायीको समस्या सम्बोधन नहुने भन्ने आएको छ । यी कुराहरूलाई समाधान गर्नुपर्ने देखिएको छ । सरकारले अटोमोबाइल्स व्यवसायीलाई कहिले पनि राम्रो नजरले हेरको छैन । यसलाई ट्याक्समा पेल्न पर्छ भन्ने सरकारको धारणा छ । कहिले कालो बजारी ऐन लागु गर्ने त कहिले भन्सारको अकास्मात् नीतिहरू लागु गर्ने गर्दा व्यवसायीहरूले दुःख पाइरहेको अवस्था छ । त्यसलाई सुधारेर सरकारसँगको सम्बन्ध बलियो बनाउनु पर्ने भएको छ ।
तपाईँले अध्यक्षमा जितेपछि व्यवसायीहरूको हक र हितका लागि के—के काम गर्ने योजना छ ?
हाम्रो टिममा यस व्यवसायका सबै पक्षहरू समेटिएका छन् । यसमा आयतकर्तादेखि डिलरसम्म समेटिएका छन् । नयाँ र पुराना सबै सङ्ग्रहित भएका छन् । यसले के संकेत गर्छ भने अबको नेतृत्वले सबै व्यवसायीहरूलाई समेट्ने छौँ । सधैँ व्यवसायीको हक हितका लागि काम गर्ने छौँ ।
सवारी प्रदुषण नियन्त्रणमा नाडाको भूमिका के रहन्छ ?
यसमा पहिलादेखि नै हामी सकरात्मक नै छौँ । अहिले पनि सरकारसँग समन्वय गर्ने कुरामा र विधुतीय बसहरू सञ्चालनमा ल्याउन पर्छ भन्नेमा पनि हामी लागि परेका छौँ । स्वास्थ्य भन्दा ठूलो कुरा केही पनि हुँदैन । बिस्तारै हामी वातावरणमैत्री सवारी साधनमा जान पर्छ भनेर नाडाले नै सबैभन्दा पहिले बोलेको हो । यो उद्देश्यमा हामी निरन्तर लागिरहेका छौँ ।
तपाईँलाई मतदान गर्ने मतदाताहरूलाई के भन्नुहुन्छ ?
उहाँहरूलाई मेरो अनुरोध के छ भने अहिले हाम्रो टिम हालसम्मकै सबै समेटिएको टिम बनेको छ । यसमा पहिलो पटक महिला उम्मेदवार पनि हामीले समेटेका छौँ । संविधानले पनि कुनै पनि व्यवसयी संस्थामा महिला हुनुपर्छ भन्ने भएकोले हामीले महिला राखेका छौँ र सबै क्षेत्रलाई समेट्ने गरी हामीले राखेका छौँ । म आफैँ पनि तल्लो लेवलदेखि आएको हुनाले सबैको समस्याको हामी समाधान गर्न सक्छौँ । त्यसकारण सबैले हाम्रो टिमलाई अमूल्य मत दिएर विजय गराउन अनुरोध गर्छु ।