प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौता भएको छ । आज काठमाडौँको होटल मेरियटमा उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकको सीइओमा अशोक सेरचन रहने स्रोतले जानकारी दिएको छ। बैंकको सिनियर डेपुटी सीइओमा सेन्चुरी बैंकका मनोज न्यौपाने रहने भएका छन् ।
सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ ।
मर्जरपछि बैंकको अध्यक्ष प्रभु बैंकको तर्फबाट रहने व्यवस्था गरिएको छ भने दुईजना संचालकले सेन्चुरीका तर्फबाट बैंकमा प्रतिनिधित्व गर्ने बताईएको छ । सेन्चुरी बैंकका कुनै पनि कर्मचारीको सेवा सुविधा कटौती नहुने गरि सम्झौता हुने भएको छ ।
मर्जरपछि प्रभुले सेन्चुरीलाई १:१ को रेसियोमा प्राप्ति गर्नेछ भने मर्जरपछि बन्ने बैंकको नाम पनि प्रभु बैंक नै रहने बुझिएको छ ।
अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । १००५ को स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।







