पूर्वाधार विकास कार्यक्रम : अधिकांश बजेट भवन र सडक निर्माणमा

गण्डकी प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अधिकांश बजेट भवन र सडक निर्माणमा छुट्याइएको छ ।

तनहुँ २ (क) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले अधिकांश बजेट सामुदायिक भवन निर्माण र सडक स्तरोन्नतीका लागि छुट्याएकी हुन् । पुर्वाधार विकास कार्यक्रमको दुई करोड बजेटको ७७ प्रतिशत भवन र सडकका टुक्रे योजनालाई छुट्याइएको छ ।

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रदेश सभा सदस्य कोइरालाले बाँडफाँट गर्न पाउने दुई करोड रुपैयाँ ३० योजनालाई विनियोजन गरिएको छ । सामुदायिक भवन, क्याम्पस भवन, कृषि उपज संकलन केन्द्रको भवन र सभाहल निर्माणका लागि मात्रै १३ योजना छनोट गरी ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

९ वटा सडक योजनालाई ५९ लाख रुपैयाँ, दुई वटा सहिद स्मृति पार्क निर्माणलाई ११ लाख रुपैयाँ, दुई वटा समूहको संस्कृति प्रवर्द्धनमा १० लाख रुपैयाँ विनियोजन भएको छ । खेल मैदानलाई पाँच लाख रुपैयाँ, बाँध कुलो निर्माणमा ६ लाख रुपैयाँ, भ्युटावर निर्माणमा आठ लाख रुपैयाँ र खानेपानी आयोजना निर्माणमा ६ लाख रुपैयाँ विनियोजन भएको छ ।

जनताको आवश्यकतालाई सम्बोधन गर्न खोज्दा भवन र सडक योजनालाई धेरै बजेट परेकाे कोइरालाको दाबी छ । ‘हामीले जनताको माग र आवश्यकतलाई सम्बोधन गर्नुपर्याे । यसपालि बाढी पहिरोले सडकमा धेरै क्षति पुर्याएको हुनाले सडक स्तरोन्नतीका योजना धेरै आए । गाउँगाउँबाट सामुदायिक भवनकाे माग आएकाे छ । जस लिनु भन्दा पनि जनताको आवश्यकतालाई पूरा गर्न खोजेका मात्रै हाैँ’, उनको प्रष्टाेक्ति छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा  समावेश नभएका साना र टुक्रे योजनाका लागि पुर्वाधार विकास कार्यक्रम प्रभावकारी भएको उनले बताइन् ।

तनहुँ २ (क) प्रदेश सभा निर्वाचन क्षेत्रमा शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका दुई वडा समेटिएका छन् । पालिकाअन्तर्गत शुक्लागण्डकीको २० योजनालाई एक करोड ३४ लाख रुपैयाँ, म्याग्देको आठ योजनालाई ४८ लाख रुपैयाँ र व्यासका तीन योजनालाई १८ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सभा सदस्य कोइरालाले जानकारी दिइन् ।

भवनतर्फ शुक्लागण्डकी नगरपालिकाको सहिद कृष्ण क्याम्पस, जागृती टोल विकास संस्था र नवीन बस्ती टोल विकास संस्थाको भवन निर्माणलाई १०-१० लाख रुपैयाँ, जुवादी कृषि उपज संकलन केन्द्र, भोटेपानी आमा समूह, मुस्ताङचोक आमा समूह र कालीकोट सामुदायिक भवन निर्माण र दलित सामुदायिक भवन संरक्षण तथा पर्खाल निर्माणका लागि पाँच पाँच लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

म्याग्दे गाउँपालिकाको विश्वकर्मा सामुदायिक भवन र घरेडी आमा समूहको भवन निर्माण गर्न तीन तीन लाख रुपैयाँ, किरियापुत्री भवन निर्माणमा तीन लाख रुपैयाँ विनियोजन भएको छ । व्यास नगरपालिकाको दरै कृषि सामुदायिक भवन निर्माणमा आठ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, शुक्लागण्डकीको सहिद स्मृति पार्कको सभाहल निर्माणमा सबैभन्दा धेरै २० लाख रुपैयाँ छुट्याइएको छ । जहाँ उनले बर्षेनि बजेट विनियोजन गर्दै आइरहेकी छन् ।

सडकतर्फ शुक्लागण्डकीको आदर्श मार्ग कालोपत्रे गर्न १० लाख रुपैयाँ, बराहडाँडा भोर्ले सडक स्तरोन्नती, लामीतारा कालिका बाघखोर हुँदै आरन भञ्जयाङ मोटर मार्ग स्तरोन्नतीमा ६-६ लाख रुपैयाँ, सहिद केवी मोटरमार्ग स्तरोन्नती र टुँडा मिलन मार्ग स्तरवृद्धिमा ५-५ लाख रुपैयाँ बजेट परेको छ । म्याग्देको दीर्घ मोटरमार्गलाई ६ लाख रुपैयाँ, छाङ-थर्पु मोटरमार्ग र कुम्लेखोला झोलुङ्गे पुल साउनेपानी मोटरमार्ग स्तरोन्नती गर्न ८-८ आठ लाख रुपैयाँ बजेट छुट्याएको प्रदेश सभा सदस्य कोइरालाले जानकारी दिइन् ।

शुक्लागण्डकीको सहिद स्मृति पार्क निर्माणमा ६ लाख रुपैयाँ र म्याग्देको सहिद स्मृति पार्क मर्मतसम्भारमा पाँच लाख रुपैयाँ बजेट परेको छ । संस्कृति प्रवर्द्धनमा शुक्लागण्डकीको दलित समूह  र व्यासको परियार सेवा समाजलाई तालिमसहित नौमती बाजा वितरण र पोशाक खरिदमा ५-५ लाख रुपैयाँ विनियोजन भएको छ ।

शुक्लागण्डकीको नमुना युवा क्लबको खेल मैदान निर्माणमा पाँच लाख रुपैयाँ, मर्स्याङ्दी बाँध कुलो निर्माणमा ६ लाख रुपैयाँ बजेट परेको छ । म्याग्देको डाँडागाउँ भ्युटावर निर्माण र नौमती बाजा खरिदमा आठ लाख रुपैयाँ र बोरिबोट खानेपानी आयोजनालाई ६ लाख रुपैयाँ बजेट छुट्याईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *