चीनसंगको व्यापार सहजिकरणका लागि नवनियुक्त राजदूतलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले चीनसँगको व्यापारमा सहजीकरण गर्न चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठआग्रह गरेको छ । शुक्रबार चेम्बर प्रतिनिधिमण्डलले भेट गरी नेपाल चीन व्यापारमा समस्या आएको भन्दै सहजीकरणका लागि आग्रह गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुहरूको निर्यात प्रवर्द्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दूतावासलाई नेपाल-चीन व्यापार सहजीकरणका लागि क्रियाशील बनाउनुपर्ने उनको भनाइ छ ।

नेपाल र चीनबीच केरुङ भएर हुने व्यापारमा अनावश्यक खर्चहरू आयात कर्ताले व्यहोर्नुपरेकाले व्यावसायिक लागत अत्यधिक रुपले बढ्न गएको प्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई उच्चस्तरमा पुर्‍याउन आफूले अधिकतम पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *