पेट्रोलियम पदार्थको उधारो कारोबार बन्द गर्न विक्रेतालाई निर्देशन

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले पेट्रोलियम विक्रेताहरुलाई उधारो कारोबार बन्द गर्न भनेको छ ।

व्यक्ति, फर्म, कम्पनी र कार्यालयहरुले एउटा पम्पबाट उधारोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने र सो रकम सम्बन्धित पेट्रोल पम्पलाई नबुझाई पुनः अर्को पेट्रोल पम्पबाट पुनः उधारो कारोबार गर्ने गरेको पाइएको भन्दै एशोसिएशनले उधारो कारोबार बन्द गर्न निर्देशन दिएको हो ।

एशोसिएशनको असार १२ को केन्द्रीय कार्यसमितिको बैठकले पेट्रोलियम पदार्थको खरिद अग्रिम रुपमा नगद भुक्तानी गरेर मात्र हुने हुँदा बिक्री पनि नगदमा मात्र गर्न गराउने निर्णय गरेको हो ।

हाल उधारोमा कारोबार गरिरहेका खरिदकर्ताहरु सहित कसैलाई पनि साउनबाट उधारोमा कारोबार नगर्न र नगराउन एशोसिएशनले निर्देशन जारी गरेको हो ।

एशोसिएशनले यसअघि एउटा पम्पसँग लिईएको उधारो भक्तानी नगरी अर्को पेटोल पम्पबाट पुनः उधारोमा कारोबार गर्ने वा लामो समयदेखि उधारो रकम नतिर्ने खरिद कर्ता व्यक्ति फर्म, कम्पनी तथा कार्यालयहरुको बिबरण एशोसिएशनमा उपलब्ध गराउन पनि सदस्य बिक्रेताहरुलाई आग्रह गरेको छ ।

एशोसिएशनले त्यस्ता खरिदकर्ताहरुलाई पुरानो बक्यौता चुक्ता नगरेसम्म कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने र कुनै पनि पम्पहरुबाट नगदमा समेत पेट्रोलियम पदार्थ उपलब्ध नगराउने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *