राष्ट्र बैंकले नियम विपरित कर्जाको ब्याजदर नबढाउन निर्देशन

नेपाल राष्ट्र बैंकले नियम विपरित कर्जाको ब्याजदर नबढाउन निर्देशन दिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबहादुर मिश्र सहित नियमन विभागका प्रमुख गुणाकर भट्ट तथा सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल तथा विदेशी बिनिमय विभागका प्रमुख गुरु पौडेल सहित उच्च अधिकारीले २७ वटा वाणिज्य बैंकका सीइओलाई बोलाएर उक्त निर्देशन दिएका हुन् ।

राष्ट्र बैंकले बैंकका सीइओलाई असार मसान्तसम्म सिडी रेसियोको सीमा ९० प्रतिशतमा जसरीपनि झार्न र त्यसमा कुनैपनि संशोधन नहुने भन्दै नियम कार्यान्वयन गर्न पनि भनेको छ ।

राष्ट्र बैंकले स्थानीय तहको पैसा निक्षेपको रुपमा देखाउन पाइने व्यवस्था असारसम्मको लागि मात्र लागू हुने हुँदा सो अनुसारको व्यवस्था कार्यान्वयन गर्न भनेको छ । राष्ट्र बैंकले नाफा देखाउने गरेर मात्र ब्यालेन्ससिट नबनाउन भनेको छ ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागका निर्देशक सतेन्द्र तिमिल्सिनाले राष्ट्र बैंकको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै बैंकिङ क्षेत्रको तथ्यांकको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यपत्रमा बैंकहरुले निक्षेपभन्दा बढी कर्जा दिएको तथा प्रणालीगत जोखिम निम्ताएको विषय उल्लेख थियो ।

राष्ट्र बैंकले ग्राहकलाई कर्जाको ब्याजदरमा अनावश्यक शुल्क नथप्न पनि निर्देशन दिएको छ । बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायका अनुसार राष्ट्र बैंकले असार मसान्तपछि कार्यान्वयन गर्ने नीतिहरुको बारेमा जानकारी गराएको थियो ।

राष्ट्र बैंकले स्थगित गरेको काउन्टर साइलिङ बफर समेत आउने वर्षदेखि लागू गर्ने छ । केही कर्जामा जोखिम भार समेत असार मसान्तदेखि लागू हुने गरेर बढाएको हुँदा पुँजीकोषमा थप दवाव पर्ने छ । राष्ट्र बैंकले मर्जरको लागि असार मसान्तसम्ममात्र छुटको लागि सीमा भएको जानकारी बैंकका सीइओलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *