काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा वाणिज्य बैंकले ३८ अर्बभन्दा बढी मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा बैंकहरूले अघिल्लो वर्षको यही अवधिमा कमाएको नाफाभन्दा ५.४० प्रतिशत कम हो । गत वर्षको माघ मसान्तसम्म ती बैंकहरूले ३८ अर्ब ८ करोड ७९ लाख रुपैयाँ कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
समग्र वृद्धिका बाबजुद बैंकहरूको समग्र कार्यसम्पादन भने उतारचढावपूर्ण छ । यस अवधिमा १० वाणिज्य बैंकको नाफा वृद्धि हुँदा बाँकी १० बैंकको नाफा घटेको छ । नाफामा सुधार देखिएका बैंकहरूको ६.६२ प्रतिशतदेखि ३२९ प्रतिशतसम्म नाफा वृद्धि भएको छ भने नाफा घट्ने बैंकहरूको ५.१७ प्रतिशतदेखि ८४.७३ प्रतिशतसम्म नाफा गिरावट भएको छ ।
सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेकाे छ। यस अवधिमा ५ अर्ब ३८ करोड नाफा कमाएर आफूलाई अग्रस्थानमा राखेको छ। त्यसैगरी, ग्लोबल आईएमई बैंक ४ अर्ब १४ करोड नाफा आर्जन गरी दोस्रो स्थान ओगट्न सफल भएको छ। कुमारी बैंकले ३ अर्ब १७ करोड र एभरेष्ट बैंकले २ अर्ब ५० करोड नाफा कमाएका छन्।
प्राइम बैंकले २ अर्ब ३९ करोड नेपाल इन्भेष्टमेन्ट बैंक २ अर्ब १९ करोड र एनएमबि बैंकले २ अर्ब १३ करोड नाफा आर्जन गरेका छन्। यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १अर्ब ८५ करोड, सानिमा बैंकले १ अर्ब ७३ करोड र सिद्धार्थ बैंकले १ अर्ब ७० करोड नाफा आर्जन गरेका छन् ।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ५६ करोड, हिमालयन बैंकले १ अर्ब ३९ करोड, प्रभु बैंकले १ अर्ब ३६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब २४ करोड र नेपाल एसबीआई बैंकले १ अर्ब २० करोड ,कृषि विकास बैंक ८५ करोड ९९ लाख, सिटिजन बैंक ५७ करोड ६९ लाख र एनआईसी एशिया बैंक ४४ करोड ३० लाख नाफा कमाएका छन् ।
यस अवधिमा सबैभन्दा कम नाफा भने लक्ष्मी बैंकको रहेको छ, जसले जम्मा २४ करोड २७ लाख मात्र नाफा आर्जन गर्न सकेको छ। अघिल्लो वर्षको तुलनामा कुमारी बैंकको नाफा सबैभन्दा धेरै ३२९.८७ प्रतिशतले बढेको छ ।
यसपछि सिद्धार्थ बैंकको नाफा पनि झण्डै दोब्बर अर्थात् ९९.५७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाफामा ५२.४६ प्रतिशतको सुधार ल्याएको छ भने नबिल बैंकले ३४.२१ प्रतिशतले नाफा बढाएको छ। यसैगरी, माछापुच्छ्रे बैंकको २८.६३ प्रतिशत, सानिमाको २६.२८ प्रतिशत र नेपाल एसबीआई बैंकको १०.६१ प्रतिशतले नाफा बढेको छ । प्राइम ९.८१ प्रतिशत, कृषि विकास बैंक ७.४९ प्रतिशत र ग्लोबल आईएमई ६.६२ प्रतिशत सहित नाफामा सकारात्मक वृद्धि हासिल गर्नर् बैंकको सूचीमा छन् ।
सबैभन्दा ठूलो गिरावट लक्ष्मी बैंकमा देखिएको छ, जसको नाफा भारी मात्रामा अर्थात् ८४.७३ प्रतिशतले घटेको छ। त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको ३६.१८ प्रतिशत र सिटिजन्स बैंकको ३६.०९ प्रतिशतले नाफामा संकुचन आएको छ । प्रभु बैंकको २५.६६ प्रतिशत र नेपाल बैंकको २४.४० प्रतिशतले नाफा ओरालो लागेको छ ।
नाफा घट्ने अन्य बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक १५.१५ प्रतिशत, एनएमबि ९.१२ प्रतिशत, हिमालयन ५.१७ प्रतिशत, एनआईसी एशिया ४.६६ प्रतिशत र एभरेष्ट बैंकको २.६६ प्रतिशत गिरावट आएको छ ।







