थाइल्यान्डमा गाँजामाथिको प्रतिबन्धित हट्यो, खेती गर्नेलाई सरकारले नै बिरुवा दिने

 थाइल्याण्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ। कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै थाइल्याण्डले गाँजामाथिको प्रतिबन्ध हटाएको हो।

बीबीसीका अनुसार गाँजामाथिको प्रतिबन्ध हटाउने थाइल्यान्ड दक्षिण–पूर्वी एसियामै पहिलो देश भएको छ। अब थाइल्याण्डमा गाँजाको खेती गर्न पाइने छ। सर्वसाधारणले अब घरमा गाँजा रोप्दा सरकारले अपराध ठान्ने छैन।

प्रतिबन्ध फुकुवा भएपछि गाँजाको व्यवसायिक खेती गर्न नागरिकहरुलाई १० लाख विरुवा वितरण गर्ने भएको छ। अब थाइल्याण्डका नागरिकले चाहे प्रतिपरिवार गाँजाका ६ वटा विरुवा सरकारबाट लिएर घरमा रोप्न सक्नेछन्। त्यस्तै व्यवसायिक कम्पनीहरुले पनि अनुमति लिएर गाँजा खेती गर्न पाउनेछन्।

गाँजामाथिको प्रतिबन्ध हटाउनु नागरिकका लागि आम्दानी गर्ने अवसर भएको थाइल्याण्डका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले बताएका छन्।

यसैबीच, गाँजामाथिको प्रतिबन्ध हटेसँगै सरकारले यसको किनबेचमा जोडिएर जेलमा पुगेका ४ हजार कैदीलाई रिहा गर्ने भएको बीबीसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *