स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत देशभरीका ७ सय ५३ पालिका मध्ये ७ सय ५२ पालिकाको अन्तिम परिणाम आइसकेको छ । अधिकांश स्थानीय तहहरुमा वैशाख ३० गते मतदान सम्पन्न भएको थियो । केही पालिकाहरुमा विवादका कारण केही दिन पछि निर्वाचन सम्पन्न भयो । बाजुराको बूढीगंगा नगरपालिकामा भने निर्वाचन हुन नै बाँकी छ । त्यहाँ दलहरुको विवादका कारण निर्वाचन रोकिएको थियो । पुनः मतदानको लागि आयोगले तयारी गरिरहेको छ ।
निर्वाचन सम्पन्न भएका पालिकाहरुमा वैशाख ३० गते रातिबाट नै थालिएको मतगणनाको परिणाम आउन भने निकै लामो समय लाग्यो । निर्वाचन आयोगको कमजोरीको कारणले गर्दा मतगणना छिटो नभएको आलोचना भएको छ । निर्वाचनमा केही अंगभंग भए, केहीको ज्याननै गयो, केही ठाउँमा गोली चल्यो । यी विविध घटनाका बाबजुद पनि जनता पाँच वर्षका लागि आफ्नो नजिकको सरकार स्थानीय सरकारका लागि जनप्रतिनिधि छनोट गरेका छन् । वर्तमान संविधान अनुसार अबको पाँच वर्ष जननिर्वाचित जनप्रतिनिधिहरुले निर्धक्क भएर काम गर्ने छन् । किनभने स्थानीय तहमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन । केन्द्र र प्रदेशमा झैँ सरकार ढाल्ने र बनाउने व्यवस्था छैन ।
स्थानीय निर्वाचनमा कोही मौलाए–कोही सेलाए
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा केही दलहरुले सोचेकै जति स्थानमा जित हाँसिल गरेर मौलाएका छन् भने केही दलहरु उठ्नै मुस्किल पर्ने गरी पछारिएका छन् । समग्रमा हेर्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलाई यो स्थानीय तह निर्वाचनमा २०७४ को स्थानीय तह निर्वाचनमा भन्दा धेरै नाफा भएको छ । केही साना दलहरुले पनि यो निर्वाचनमा राम्रो लाभ लिएको पाइन्छ ।
पाँच दलीय गठबन्धनसँग सामना गर्न पर्दा नेकपा एमालेलाई केही क्षति भएको छ । देशको पहिलो दलको हैसियतबाट एमाले कांग्रेसभन्दापछि पर्दै दोस्रो दलको रुपमा खुम्चिएको छ । निर्वाचन अगाडि पाँच दलिय गठबन्धनलाई ठहरै पार्ने भन्ने एमाले यतिबेला निर्वाचनको परिणाम देखेर हार बेहोर्न बाध्य भएको छ ।
गठबन्धनबाट लाम लिने दाउमा निरन्तर स्थानीय तहको निर्वाचनमा गठबन्धन एक भएर एमालेलाई हराउनु पर्छ भन्ने एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि यो निर्वाचनमा अत्यन्त कम सिटमा चित्त बुझाउन परेको छ । विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले पार्टीले निर्वाचनमा हार ब्यहोरेकोले नैतिकताको आधारमा अध्यक्ष पदबाट राजिनामा दिएका छन् । त्यसैगरी पुर्व उपप्रधान मन्त्री तथा राप्रपाका पूर्व अध्यक्ष कमल थापाले राप्रपा छाडेर राप्रपा नेपाल नामको पार्टी खोलेर नेकपा एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा होमिएका थिए । तर यो निर्वाचन परिणाम आउँदा भने त्यो पार्टीको नाम कही पनि आएन् ।
७५२ पालिकाको परिणाम यसप्रकार छ :
प्रथम : नेपाली कांग्रेस
सत्ताको नेतृत्व गर्न मात्रै होईन्, निर्वाचन जित्न पनि कम्युनिस्टहरुको चलाखीपूर्ण प्रयोगबाट नेपाली कांग्रेस देशको पहिलो दलको रुपमा निर्वाचित भएको छ । पार्टीको कार्यकर्ता तहसम्मै स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न हुँदैन् भन्ने आवाजलाई चिरेर धेरै सिट जित्न सफल भएका सभापति देउवा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धनको फाइदा लिने दाउमा छन् ।
प्रमुख : १४१
उपप्रमुख : ११०
अध्यक्ष : १८८
उपाध्यक्ष : १९०
वडाध्याक्ष : २६६५
महिला सदस्य : २६०६
दलित महिला सदस्य : २५५१
सदस्य : ५३०७
प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा कांग्रेस प्रथम भएको छ भने उपप्रमुखमा चाहीँ एमालेले कांग्रेसले भन्दा ४ सिट बढि ल्याएर पहिलो भएको छ ।
दोस्रो : नेकपा एमाले
२०७४ सालको स्थानीय तह निर्वाचनमा सबैले भन्दा धेरै स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले यो स्थानीय तहको निर्वाचनमा दोस्रो दलमा खुम्चिएको छ । सोझो भाषामा भन्दा एमाले निर्वाचनमा कांग्रेससँग पराजित भएको छ । एमालेबाट पुर्व प्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाललगायतका नेताहरुले एमाले छाडेर एकिकृत समाजवादी पार्टी खोलेका छन् । त्यसरी पार्टी विभाजित भएकोले पनि दोस्रो पार्टी बन्न पुगेको रावनीतिक विश्लेषकहरुको टिपणी छ । पार्टी विभाजित भएको र प्रतिस्पर्धामा पाँच दलिय सत्ता गठबन्धन हुँदा पनि यस्तो परिणाम आउनु अत्यन्तै राम्रो भएको भनेर पनि समीक्षा भएको छ ।
प्रमुख : ८२
उपप्रमुख : १४१
अध्यक्ष : १२३
उपाध्यक्ष : १२६
वडा अध्यक्ष : २१३०
महिला सदस्य : २३४५
दलित महिला सदस्य : २२८८
सदस्य : ४६८५
तेस्रो : नेकपा माओवादी केन्द्र
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेपछि नेकपा टुक्रिएको थियो । त्यतिबेला माओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टजस्ता केही नेताहरु एमालेमा बसेका थिए । त्यसरी क्षेती हुँदा पनि माओवादीले २०७४ सालको चुनावमा भन्दा केही सिट धरै जितेको छ । तसर्थ, माओवादीलाई गठबन्धनबाट निर्वाचनमा जाँदा नाफा भएको छ ।
प्रमुख : २५
उपप्रमुख : ३३
अध्यक्ष : ९६
उपाध्यक्ष : ९५
वडा अध्यक्ष : १०५३
महिला सदस्य : ९६३
दलित महिला सदस्य : ९७३
सदस्य : १८०७
अन्य दलहरुको स्थानीय निर्वाचन परिणाम :
प्रमुख र अध्यक्षमा :
जनता समाजवादी पार्टी नेपाल ३०
नेकपा एकिकृत समाजवादी २०
लोकतान्त्रीक समाजवादी पार्टी १६
स्वतन्त्र १३
राप्रपा, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी ४/४
जनमत पार्टी २
विवेकशील साझा, नेमकिपा, जनता प्रगतिशील पार्टी र तमलोपा १/१
उपप्रमुख र उपाध्यक्ष :
जनता समाजवादी पार्टी नेपाल ३१
नेकपा एकिकृत समाजवादी २३
लोकतान्त्रीक समाजवादी पार्टी १२
राप्रपा र स्वतन्त्र ४/४
नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा ३/३
विवेकशील साझा, नेमकिपा, जनमत पार्टी र जनता प्रगतिशील पार्टी नेपाल १/१
३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
स्थानीय तह निर्वाचन २०७९ मा ३८६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६७ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये मेयरमा आठ र अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकामा बालेन्द्र साह, धरान उपमहानगरपालिकामा हर्कराज साम्पाङ, धनगढी उपमहानगरपालिकामा गोपाल हमाल र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन् ।
यसरी स्वतन्त्र उम्मेदवारहरु महानगर र उपमहानगरहरुमा नै विजयी हुनुलाई देशमा परिवर्तनको संकेत भएको अनुमान गरिएको छ । दलहरुको भागबण्डा, निर्वाचनमा गठबन्धन र राम्रो उम्मेदवारलाई टिकट नदिएको विरुद्ध जनताको जवाफको रुपमा पनि लिइएको छ ।
बूढीगंगामा पुनः निर्वाचनको तयारी
बाजुराको बुढीगंगा नगरपालिकामा दलहरुको विवादका कारण मतदान रोकिएको छ । त्यहाँ पुनः मतदान गर्न निर्वाचन आयोगले तयारी गरिरहेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीचको विवादका कारण रोकिएको मतदान जेठ महिनाभित्र सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ । पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ ।
बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि पुनः निर्वाचन गर्न लागिएको हो । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन ।




