तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका  अनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो।  ‘थासाङ २, मुस्ताङको सानोशरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले भने।

सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाज फेला पारेका हुन्। जहाज दुर्घटनाग्रस्त भएका ठाउँमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ।

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *