काठमाडौँ । राजधानीका विभिन्न स्थानमा ठुलो परिमाणको धनमाल चोरी गरेको आरोपमा पक्राउ परेका प्रेम थारूविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुई छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ ।
बौद्ध र भोटबहाल क्षेत्रमा भएका दुई ठूला चोरी घटनामा प्रत्यक्ष संलग्नता देखिएपछि जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध चोरी (नकबजनी) सम्बन्धी अभियोग पत्र दायर गरेको हो । साथै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अलग्गै मुद्दा अघि बढाइएको छ ।
प्रहरी अनुसन्धानअनुसार थारूले काठमाडौँको बौद्धस्थित तेन्जिङ डोल्मा नेपालीको घरबाट करिब ८० लाख रुपैयाँ बराबरको धनमाल तथा भोटबहालस्थित रामकुमार पण्डितको घरबाट थप ८० लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी गरेका थिए । कुल मिलाएर करिब १ करोड ६० लाख रुपैयाँ बराबरको चोरी भएको विवरण अभियोग पत्रमा उल्लेख छ ।
अभियोग पत्रमा भनिएको छ, ‘अभियुक्तले चोरीको धनमालबाट आय आर्जन गरी घर, जग्गा, गाडी लगायतको धनसम्पत्ति जोडी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूर गरेकाले सोहीअनुसार कारबाही हुनुपर्ने ।’
अनुसन्धानका क्रममा उनले चोरीका क्रममा सुनका गहना भारतका विभिन्न सहरमा लगेर गाल्ने र बिक्री गर्ने गरेको खुलेको छ । त्यसबाट प्राप्त रकमलाई घरजग्गा, गाडी तथा बैंक खातामार्फत वैध बनाउने प्रयास गरिएको भन्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत पनि मुद्दा अघि बढाइएको हो ।
सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २४३ अनुसार चोरी (नकबजनी) अपराधमा अधिकतम सजायको माग गरेको छ । साथै, उनी पेशेवर र शृङ्खलाबद्ध चोर भएको देखिएकाले दफा ४४ बमोजिम थप सजायको समेत मागदाबी गरिएको छ ।
प्रहरी अनुसन्धानमा थारूले ‘सुप्रिम विकास चौधरी’ र ‘सौरभ चौधरी’ जस्ता नक्कली पहिचान प्रयोग गरेर अनुसन्धानबाट बच्ने प्रयास गरेको तथ्य पनि खुलेको छ । उनी विगत केही वर्षदेखि काठमाडौँलाई आधार बनाएर चोरी गतिविधि सञ्चालन गर्दै आएको र त्यसबाट प्राप्त रकमबाट विलासी जीवनशैली अपनाएको अनुसन्धानले देखाएको छ ।
यससँगै अभियुक्तविरुद्धको मुद्दा चोरी र सम्पत्ति शुद्धीकरण दुवै कानुनी दायरामा अघि बढाइएको छ ।






