नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई हराएर स्वतन्त्र उम्मेदवार बालेन साहलाई जिताउन भूमिका खेलेको आरोप लागिरहेका बेला कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नयाँ टिमसँग सधैँ साथमा रहेर काम गर्ने घोषणा गरेका छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएपछि थापाले काठमाडौंको एक सांसदको रूपमा महानगरको टिमसँग मिलेर काम गर्ने बताएका हुन् ।
‘काठमाडौं महानगर प्रमुखमा बालेन साह, उपप्रमुखमा सुनिता डंगोल तथा महानगरका निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना’, गगनले भनेका छन्, ‘काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौं’ बनाउने अभियानमा काठमाडौंको एक सांसदको रूपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु ।’
गगनले बालेनलाई जिताउन भूमिका खेलेको आरोप कांग्रेसकै कतिपयले नेता कार्यकर्ताहरुले लगाइरहेका बेला उनको पछिल्लो घोषणा आएको हो । चुनावी हारबारे चाक्सिबारीमा भएको समीक्षा बैठकमा एक नेताले ‘गगनले हरायो’ भनेको स्रोतको दाबी छ ।
बालेनले भने आफ्नो पछाडि रहेको शक्तिबारे खुलेर बताएका छैनन् । तर उनले आफूले पाँच वर्षदेखि काठमाडौंको मेयरमा लड्ने तयारी गरेको बताउने गरेका थिए । गगन थापासँग बालेनको निटक सम्बन्ध रहेको दाबी गर्नेहरुको जमात सानो छैन । उनीहरु सिर्जना सिंहलाई गगनले सहयोग नै नगरेको दाबी गर्छन् ।
यसो दाबी गरिरहँदा उनीहरुले पेस गर्ने तर्क भनेको कांग्रेसको १४औँ महाधिवेशनमा भएको शक्ति समीकरण हो । सभापतिमा पहिलो चरणमा ५१ प्रतिशत मत कसैको नपुगेपछि दोस्रो चरणमा प्रत्यासी प्रकाशमान सिंह र विमलेन्द्र निधिले शेरबहादुर देउवालाई सहयोग गरे ।
तर प्रकाशमान र निधिको यो निर्णय देउवाविरुद्ध दोस्रो चरणमा एक भएर जाने इतरसमूहबीच भएको सहमति विपरीत थियो । सहमति विपरीत हिँडेर धोका दिएको भन्दै शेखर कोइराला र गगन थापाहरु प्रकाशमान सिंहसँग रिसाएका थिए ।
त्यसैको बदला प्रकाशमानकी श्रीमती सिर्जनालाई मेयरमा हराएर लिने भित्रि रणनीति शेखर–गगनहरुले लिएको श्रोतको दाबी छ । तर गगन थापा सिर्जनाको प्रचारमा खुलेरै सहभागी भएको तथ्य भने लुकेको छैन । शेखर कोइराला भने प्रचारमा कतै देखिएनन् ।
यो बीचमा चुनावी प्रचारका क्रममा गगन थापासँग बालेनको तीनपटक भेट भएको दाबी पनि गर्ने गरिएको छ । तर यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।
बालेनले आफ्नो अभियान देशभर विस्तार गर्ने घोषणा गरेका छन् ।






