काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब ९४ करोड रुपैयाँ विद्युत् बिक्री आम्दानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आम्दानी बढेको हो।
गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको थियो। तर, आम्दानी बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ६७ करोड रुपैयाँ थियो।
वित्तीय खर्च बढ्दा कम्पनीको नाफामा केही असर परेको छ । यस्तो खर्च पहिले १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब १४ करोड रुपैयाँ छ ।
आयोजना पूर्ण सञ्चालनमा रहेको कम्पनीले वित्तीय विवरणमा स्पष्ट पारेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा छ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता १९३ रुपैयाँ छ ।





