काठमाडाैँ । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्।
सरकारले यसअघि वि.सं. २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको थियो।
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेको छ। सोही परम्परालाई मध्यनजर गर्दै सरकारले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको सूचनामार्फत सम्बन्धित सबैलाई सोमबारको सार्वजनिक बिदाबारे जानकारी गराइएको छ।




