बिर्तामोडमा आजदेखि ‘चिनो’को वेयरहाउस सेल

बिर्तामोड । नेपाली कपडा ब्राण्ड ‘चिनो’ले दशैँलाई लक्षित गर्दै झापाको बिर्तामोडमा चारदिने ‘वेयरहाउस सेल’ आयोजना गर्ने भएको छ।

बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा असोज १७ देखि २० गतेसम्म सञ्चालन हुने सेलको तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ।

सेलमा क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतका पहिरन छुट मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ। आफ्नै कारखानामा उत्पादन गरिएका कपडा कारखानाबाट सिधै ग्राहकलाई बिक्री गरिने भएकाले तुलनात्मक रूपमा सुलभ मूल्यमा उपलब्ध गराइने कम्पनीको भनाइ छ।

सेलमा थोक तथा खुद्रा दुवै प्रकारको बिक्री हुने जनाइएको छ। कम्पनीका अनुसार सेल अवधिमा २९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मका पहिरन खरिद गर्न सकिनेछ।

पत्रकार सम्मेलनमा विभिन्न मोडलले ‘चिनो’ ब्राण्डका पहिरन प्रदर्शन गर्दै ¥याम्प वाकसमेत गरेका थिए।

कम्पनीका निर्देशक राजेन्द्र डुम्रेले दशैँअघि नै सेल आयोजना गरिएकाले इटहरीको तुलनामा बिर्तामोडमा बढी ग्राहकको उपस्थिति हुने अपेक्षा गरिएको बताए । ‘दशैँअघि नै सेल लागेकाले इटहरीभन्दा बढी ग्राहक आउने अपेक्षा गरेका छौँ,’ उनले भने ।

युवा पुस्ताले रुचाएको नेपाली ब्राण्ड भएकाले बिर्तामोडको सेल पनि सफल हुने उहाँले बताउनुभयो। ‘नेपालीका लागि नेपाली ब्राण्ड, अहिले यही कुरा हाम्रो मूलमन्त्र भएको छ,’ निर्देशक डुम्रेले भने ।

चिनोका संस्थापक नवराज बजगाईंले नेपाली उत्पादनलाई विश्वस्तरीय बनाउन आफूहरूले निरन्तर काम गरिरहेको बताए । कुनै समय गार्मेन्ट उद्योगका क्षेत्रमा नेपाली समुदायले बनाएको पहिचानलाई ‘चिनो’मार्फत पुनः स्थापित गर्ने अभियानमा आफूहरू रहेको उनको भनाइ छ।

उनले हाल महिलाका पहिरनमा केन्द्रित रहेको चिनोले छिट्टै पुरुषका पहिरनसमेत उत्पादन गर्ने योजना रहेको जानकारी दिए ।

कम्पनीका अनुसार चिनोमा हाल करिब ७ सय जनाले रोजगारी पाएका छन्। रोजगारी पाउनेमध्ये करिब ८० प्रतिशत महिला छन्। युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको ब्राण्डले पहिरनको डिजाइन र गुणस्तरलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

चिनोले यसअघि सुनसरीको इटहरीमा पनि वेयरहाउस सेल आयोजना गरेको थियो। उक्त सेलमा ४० हजारभन्दा बढी ग्राहक सहभागी भएको कम्पनीको दाबी छ। इटहरीमा प्राप्त प्रतिक्रिया तथा ग्राहकको मागलाई आधार बनाएर बिर्तामोडमा सेल आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीले दशैँका लागि खरिद गर्ने ग्राहक तथा फेसनमा रुचि राख्ने उपभोक्तालाई सेलमा सहभागी हुन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *