काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा मौसम तथा जलवायु जोखिमसम्बन्धी तथ्याङ्कको अभावभन्दा पनि उपलब्ध तथ्याङ्कलाई नीतिगत निर्णय र वित्तीय उपकरणसँग जोड्न नसक्नु मुख्य समस्या रहेको बताएका छन्। मौसम तथा नदीको सतह मापन गर्ने उपकरण भए पनि पहाडी क्षेत्रमा विकसित हुने वास्तविक जोखिम पहिचान गर्न नसक्दा पूर्वसूचना र वित्तीय जोखिम व्यवस्थापन प्रभावकारी हुन नसकेको उनको भनाइ छ।
टर्किएको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत सोमबार आयोजित सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी (एसओएफएफ) को उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री वाग्लेले गत अगस्ट २६ मा भोटेकोशी–त्रिशूली करिडोरमा भएको विपद्को उदाहरण दिँदै मौसम तथा जलवायु जोखिमको पूर्वानुमान प्रणालीमा देखिएको कमजोरी औँल्याए। आफू अर्थमन्त्री भएर पनि जलवायु तथा मौसमसम्बन्धी मञ्चमा उपस्थित हुनुपर्ने कारण प्रस्ट्याउँदै उनले उक्त विपद्को अनुभव सुनाएका थिए।
उनका अनुसार त्यस दिन नेपालको उच्च हिमाली क्षेत्रमा चट्टानी पहाड भत्किएर लेदोसहितको बाढी आएको थियो। तर, त्यसबेला उपलब्ध मौसम तथा जलसम्बन्धी उपकरण, ऋण सुविधाका ट्रिगर, बीमाका सम्भावित ट्रिगर र पूर्वसूचना प्रणालीले विकसित भइरहेको वास्तविक जोखिम पहिचान गर्न सकेनन्।
‘हामीसँग भएका हरेक उपकरणले वर्षा र नदीको सतह पढे। पानी परेन,’ उनले भने।
नेपाल तथ्याङ्कविहीन देश नभएको उल्लेख गर्दै उनले समस्या तथ्याङ्क संकलन र त्यसको प्रयोगबीच रहेको बताए। ‘नेपाल तथ्याङ्क नभएको देश होइन। मैले औँल्याउन चाहेको अन्तर देश र उसको तथ्याङ्कबीचको होइन, तथ्याङ्क र निर्णयबीचको हो,’ उनले भने।
वाग्लेले मौसम तथा जलवायु अवलोकन प्रणालीलाई वित्तीय जोखिम व्यवस्थापनसँग जोड्नुपर्नेमा जोड दिए। उनका अनुसार भरपर्दो तथ्याङ्कबिना वित्तीय जोखिम व्यवस्थापनका उपकरण प्रभावकारी हुन सक्दैनन्।
‘तथ्याङ्क छैन भने ट्रिगर छैन। ट्रिगर छैन भने प्यारामेट्रिक बीमा छैन। बीमा छैन भने पूर्वव्यवस्थित वित्त छैन,’ उनले भने, ‘छ त केवल ऋणका रूपमा आउने वित्त। महँगो ऋण।’
उनले जलवायुजन्य विपद्का दृष्टिले नेपाल पहिले नै एउटा प्रयोगशाला बनिसकेको बताए। अब विपद्का घटनाबाट पाठ सिकेर वैज्ञानिक आधारमा जोखिम मापन गर्ने र त्यसअनुसार वित्तीय संयन्त्र विकास गर्ने समय आएको उनको भनाइ छ।
‘यस प्रकारको जोखिमका लागि नेपाल पहिले नै प्रयोगशाला भइसकेको छ। प्रश्न यो हो कि नेपाल वैज्ञानिक पनि बन्नेछ कि छैन,’ उनले भने।
जलवायु परिवर्तनका कारण विश्व थप जोखिमपूर्ण बन्दै गएको उल्लेख गर्दै वाग्लेले सबैभन्दा कम जोखिम थेग्न सक्ने मुलुक नै पर्याप्त तथ्याङ्क र पूर्वसूचना प्रणालीको अभावका कारण बढी जोखिममा रहेको बताए। ‘तातो हुँदै गएको विश्व अन्धकारमा उडिरहेको छ, र त्यसको भार सबैभन्दा कम थेग्न सक्ने देशहरू नै सबैभन्दा बढी अन्धकारमा उडिरहेका छन्,’ उनले भने।
मौसम तथा जलवायु अवलोकन प्रणालीको आधारभूत संरचनामा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले त्यसबाट प्राप्त तथ्याङ्कलाई बीमा, वित्तीय उपकरण, पूर्वसूचना र जोखिम व्यवस्थापन प्रणालीसँग जोड्नुपर्ने बताए।
‘आधार तहमा लगानी गरौँ। त्यसमाथि हामी मिलेर निर्माण गरौँ, ताकि यो मञ्चमा आउने अर्को अर्थमन्त्रीसँग वर्षा मात्र होइन, पहाडलाई पनि पढ्ने ट्रिगर होस्,’ उनले भने।
नेपालले सन् २०२६ मा भोगेका विपद्का घटनाबाट प्राप्त अनुभवलाई विश्वव्यापी जलवायु जोखिम न्यूनीकरणमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो। नेपालले सिकेका पाठ अन्य मुलुकले पुनः त्यस्तै विपद् भोगेर सिक्न नपरोस् भन्नका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले बताए।
‘नेपालले सन् २०२६ मा सिकेका पाठलाई सार्थक बनाऔँ, ताकि कुनै पनि देशले ती पाठ फेरि सिक्नु नपरोस्,’ उनले भने।




