काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवातर्फ रिक्त रहेका विभिन्न पदमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले २०८३ असार मसान्तसम्म रिक्त भएका पदहरूमा पदपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।
बैंकले कर्मचारी भर्नासम्बन्धी विस्तृत विवरणसहितको आधिकारिक सूचना आगामी कात्तिक २७ गते सार्वजनिक गर्ने जनाएको छ। उक्त सूचना बैंकको आधिकारिक वेबसाइट, इन्ट्रानेट तथा केन्द्रीय कार्यालयको सूचनापाटीमा एकैसाथ प्रकाशन गरिनेछ।
तर, कात्तिक २७ गते गोरखापत्र दैनिक प्रकाशित नहुने भएकाले उम्मेदवारको सहजताका लागि सूचना कात्तिक २५ गते नै गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
दरखास्त दिन इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले तोकिएको समयभित्र अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।
पद संख्या, आवश्यक योग्यता, उमेरको हद, परीक्षा प्रणाली तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत जानकारी बैंकले प्रकाशन गर्ने आधिकारिक सूचनामा समावेश हुनेछ। बैंकले इच्छुक उम्मेदवारलाई आधिकारिक वेबसाइटमा प्रकाशित हुने सूचना नियमित रूपमा अध्ययन गर्न आग्रह गरेको छ।




