काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा हरेक टोलीले कम्तिमा पाँच पाँच खेल खेलिसकेका छन् । दुई टोलीले त छ छ वटा खेल खेलिसकेका छन् ।
समग्रमा एनपीएलको लिग चरणका २८ मध्ये २१ खेल भइसकेका छन्। अब सात खेल बाँकी हुँदा काठमडौँ र सुदूरपश्चिम प्लेअफमा पुग्ने लगभग निश्चित देखिएको छ भने बाँकी दुई स्थानका लागि चार टोली प्रतिस्पर्धामा छन् ।
यो त भयो टिमको कुरा । प्रतियोगितामा खेलाडीको ब्यक्तिगत प्रदर्शनको कुरा गर्दा ब्याटिडमा लोकेश बमले सबैभन्दा बढी रन बनाएका छन् । विराटनगर किंग्सका खेलाडी बमले पाँच खेलमा १९४ रन बनाएका छन् । उनले दुई अर्ध शतक पनि प्रहार गरिसकेका छन् । अहिलेसम्म १६ छक्का र १२ चौका प्रहार गरेका लोकेश शतक बनाउनबाट मात्र १३ रनले चुकेका थिए ।
यस्तै, दोस्रो नम्बरमा चितवन राइनोजका रवि बोपारा छन्। यी बेलायती खेलाडीले चार खेलमा एक अर्धशतकसहित १७१ रन बनाएका छन्। उनले नौ चौका र आठ छक्का हानेका छन् ।
तेस्रो नम्बरमा छन् विराटनगरका आन्द्रे रसेल। रसेलले पाँच खेलमा एक अर्धशतकसहित १४४ रन बनाएका हुन्। उनले १४ छक्का र आठ चौका प्रहार गरेका छन्।
चौथो नम्बरमा कर्णाली याक्सका अरिफुल इस्लाम छन्। पाँच खेलमा १४३ रन बनाएका उनले १२ छक्का र १० चौका प्रहार गरेका छन्।
पाँचौ नम्बरमा जनकपुर बोल्ट्सका सैफ हसन रहेका छन् । उनले उनले कुल चार खेलबाट एक अर्ध शतकसहित १४० रन बनाएका छन्। एकै खेलमा ७१ रन हानेका हसनले अहिलेसम्म सात चौका र आठ छक्का प्रहार गरेका छन्। कर्णालीका पवन सर्राफले पनि १४० रन नै बनाएका छन्। उनलेअहिलेसम्म दुई चौका र १० छक्का प्रहार गरेका छन्।
यस्तै, १३६ रन बनाएका पोखरा एभेन्जर्सका कुशल भुर्तेल, आठौं नम्बरमा, १२७ रनसहित काठमान्डु गोर्खाजका डेविड वार्नर, नवौँ नम्बरमा १२४ रन बनाएका सुदूरपश्चिम रोयल्सका ब्रेन्डन म्याकमुलेन र १२१ रन बनाएका पोखराका युवराज शर्मा दशौँ नम्बरमा रहेका छन् ।
यस्तै, बलरतर्फ भने अहिलेसम्म विदेशी खेलाडीले शिर्ष स्थान ओगटिरहेका छन् । जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह ११ विकेट सहित शिर्ष स्थानमा रहेका हुन् ।
भारतीय मूलका अमेरिकी खेलाडी हरमितले सुदूरपश्चिमसँगको एकै खेलमा ४ विकेट लिएका थिए । भलै, उनको त्यो प्रदर्शनका बाबजुत जनकपुर भने पराजित हुन पुग्यो । ६ खेलमा ११ विकेट लिने क्रममा उनले १३७ रन खर्चिएका छन्। दोस्रो नम्बरमा चितवन राइनोजका खेलाडी रिजन ढकाल रहेका छन् । उनले चार खेलमा १० विकेट लिएका छन्। चितवन राइनोजकै कमलसिंह ऐरी, जनकपुर बोल्ट्सका राहुल यादव र कर्णाली याक्सका सोमपाल कामीले समान नौ नौ विकेट लिएका छन् ।
यसैगरी लुम्बिनी लायन्सका शेर मल्ल, सुदूरपश्चिममा अनिल खरेल, काठमाडौं गोर्खाजका जहन्दाद खान र सुदूरपश्चिमका स्कट कुग्लेजिनले समान आठ आठ विकेट लिएका छन् ।
प्रतियोगितामा अझै सात खेल बाँकी रहेको र कुन कुन टोली प्लेअफ हुँदै फाइनलसम्म पुग्छन् भन्ने तय भइनसकेको हुँदा खेलाडीको प्रदर्शन पनि त्यसैमा तलमाथि पर्ने अवस्था बाँकी नै छ ।
प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै विकेट लिने खेलाडीलाई मोटरसाइकल पुरस्कार दिने प्रावधान रहेको छ ।




