काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी प्रकरणका आरोपितहरू रिहा हुँदै गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारमाथि प्रश्न उठाएका छन्।
शाहीले भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्याउन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले सत्ता बाहिर रहँदा भ्रष्टाचारविरुद्ध चर्का भाषण गर्नेहरू नै अहिले सत्तामा पुगे पनि प्रकरणको थप अनुसन्धान अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।
‘भुटानी शरणार्थी काण्डका दोषीलाई हिजो सत्ता बाहिर हुँदा के–के भनिन्थ्यो, सबैलाई सम्झना होला। संसद्मा डाको छोडेर भ्रष्टाचारीलाई जेल हाल्छौँ, कसैलाई छोड्दैनौँ भन्दै भाषण गर्नेहरू, फेसबुक स्टाटस लेखेर भ्रष्टाचारविरुद्ध आगो ओकल्नेहरू आज आफैँ सत्तामा छन्,’ शाहीले लेखेका छन्।
उनले नयाँ सरकार गठन भएको सात महिना र त्यसअघिको सरकारको कार्यकालसमेत जोड्दा १३ महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्याउन नसकेको बताएका छन्।
यसअघि कारबाही भएर जेल सजाय भोगिरहेका व्यक्तिसमेत छुटिसकेको उल्लेख गर्दै शाहीले थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुगेको छ भन्दै सरकारसँग जवाफ मागेका छन्।
‘नयाँ फाइल किन तयार भएन? दोषीमाथि थप कारबाही किन भएन?’ उनले प्रश्न गरेका छन्।
भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाउने सुविधाका आधारमा उनी रिहा भएका हुन्।




