नागरिक लगानी कोषको नाफा सामान्य बढ्यो, प्रतिफल दर घट्यो

काठमाडौं । नागरिक लगानी कोषको खुद नाफामा सामान्य सुधार देखिए पनि लगानीबाट प्राप्त प्रतिफल दर र प्रतिशेयर आम्दानी घटेको छ। कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३१ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कोषले ३१ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कोषको कुल आम्दानी ३.८९ प्रतिशतले बढेर ५५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५३ करोड ७२ लाख रुपैयाँ थियो। कोषको आम्दानीमा सेवा शुल्क तथा कमिसनको योगदान बढेको छ। यस शीर्षकको आम्दानी बढेर ४६ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

तर कोषको ब्याज आम्दानी भने उल्लेख्य रूपमा घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ९ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको कोषले चालु वर्षको सोही अवधिमा ५ करोड ८२ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ। यसले कोषको आम्दानी संरचनामा ब्याजको योगदान घटेको देखाउँछ।

आम्दानी बढे पनि कोषको खर्चमा समेत वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ११ करोड ७९ लाख रुपैयाँ रहेको कुल खर्च चालु वर्षको सोही अवधिमा बढेर १३ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

यसैबीच, कोषको कुल स्रोत र लगानीको आकार भने विस्तार भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ३ खर्ब १९ अर्ब १५ करोड रुपैयाँ रहेको कुल स्रोत चालु वर्षको सोही अवधिमा बढेर ३ खर्ब ८२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कोषको कुल लगानी ३ खर्ब ४२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

कोषको खुद नाफा सामान्य बढे पनि प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ। गत वर्षको पहिलो त्रैमासमा १९ रुपैयाँ ४० पैसा रहेको प्रतिशेयर आम्दानी चालु वर्षको समीक्षा अवधिमा घटेर १८ रुपैयाँ ५८ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ पनि १६९ रुपैयाँ ८ पैसाबाट घटेर १५७ रुपैयाँ ११ पैसामा झरेको छ।

त्यस्तै, कोषको लगानीबाट प्राप्त प्रतिफल दरसमेत घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.८१ प्रतिशत रहेको प्रतिफल दर चालु वर्षको सोही अवधिमा ४.२७ प्रतिशतमा सीमित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *