काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको खुद नाफा एक वर्षमा झन्डै १० गुणाले बढेको छ। विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार आएपछि कम्पनीको नाफामा उच्च वृद्धि देखिएको हो।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको नाफा ९७७.८३ प्रतिशतले बढेको हो।
कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ६४५.११ प्रतिशतले बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १० करोड १८ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु वर्षको सोही अवधिमा बढेर ७५ करोड ८९ लाख रुपैयाँ पुगेको छ। विद्युत बिक्री आम्दानीमा आएको यही सुधारले कम्पनीको नाफा बढाउन मुख्य योगदान गरेको देखिन्छ।
आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ६ करोड ३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु वर्षको सोही अवधिमा ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यो ६५२.२४ प्रतिशतको वृद्धि हो। त्यस्तै, कम्पनीको कुल नाफा ६२४.८४ प्रतिशतले बढेर ७० करोड ६४ लाख रुपैयाँ पुगेको छ।
नाफामा भएको सुधारको प्रभाव प्रतिशेयर आम्दानीमा समेत देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा १ रुपैयाँ १० पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) चालु वर्षको सोही अवधिमा बढेर १३ रुपैयाँ ७ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ पनि ९३ रुपैयाँ ६९ पैसाबाट बढेर ९९ रुपैयाँ ४७ पैसा कायम भएको छ।
कम्पनीको सञ्चित नोक्सानीमा समेत उल्लेख्य कमी आएको छ। गत वर्षको असोज मसान्तमा ३७ करोड ६६ लाख रुपैयाँ रहेको सञ्चित नोक्सानी घटेर चालु वर्षको समीक्षा अवधिमा ३ करोड १८ लाख रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ यथावत् रहेको छ। दीर्घकालीन ऋण ६.७६ प्रतिशतले घटेर १५ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने कुल सम्पत्ति १.८२ प्रतिशतले घटेर २१ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ।




