काठमाडौँ ।एआईको युगमा नेपाल अभियानका संयोजक सौरभ राज पन्तले प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणलाई आर्थिक सहायता र पूर्वाधार विकासका परियोजनामा मात्र केन्द्रित नगरी एसियाको बदलिँदो भूराजनीतिक परिवेशलाई समेत ध्यानमा राखेर अघि बढाउनुपर्ने बताएका छन्।
पन्तले भारत भ्रमणका क्रममा नेपालले आर्थिक सहायता, ऊर्जा, पूर्वाधार, व्यापार, शिक्षा, प्रविधि तथा हवाई र रेल कनेक्टिभिटीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दा भारत–चीन सम्बन्ध, चीन–अमेरिका प्रतिस्पर्धा, क्वाड र एससीओको रणनीतिक प्रभावलाई समेत ध्यान दिनुपर्ने बताएका छन्।
नेपालले प्रस्ताव गरेको बुटवल–पोखरा एक्सप्रेसवेलाई पनि सामान्य सडक पूर्वाधारका रूपमा मात्र हेर्न नहुने पन्तले बताए। करिब ७५० मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको उक्त परियोजनाले भारतीय सीमादेखि पोखरासम्मको यात्रा दूरी घटाउने लक्ष्य राखेको छ।
पन्तले भने, “हाम्रा दुवै छिमेकीले नेपालभित्र रणनीतिक रूपमा आफू कसरी छिचोल्न अर्थात् पेनिट्रेट गर्न सकिन्छ भन्ने दृष्टिकोणबाट पनि हेर्ने गर्छन्। विश्व राजनीतिको ग्रेट गेमको यथार्थ यही हो। बुटवल–पोखरा एक्सप्रेसवेले भारतलाई नेपालको पहाडी भूभागसँग जोड्ने सम्भावना राख्छ।
अर्कोतर्फ, भोटेकोशी बाढीपछि चीनले मुस्ताङको कोरला नाकालाई प्रवर्द्धन गर्ने विषयलाई अघि सारेको छ। त्यसैले बुटवल–पोखरा हुँदै मुस्ताङ र कोरलासम्मको एउटा रणनीतिक करिडोरको सम्भावना देखिन्छ। यसले नेपालका लागि आर्थिक अवसर सिर्जना गर्न सक्छ, तर भूराजनीतिक प्रतिस्पर्धाको अर्को हिस्सा बन्ने जोखिम पनि उत्तिकै छ।” उनले थपे, “नेपालले विकासका लागि बाह्य मुलुकसँग सहयोग माग्दा त्यससँग विकासका अवसर मात्र आउँदैनन्, रणनीतिक स्वार्थ र भूराजनीतिक सोच पनि जोडिएर आउँछन्।
त्यसलाई पहिचान गरेर राष्ट्रिय हितअनुकूल व्यवस्थापन गर्न सक्नुपर्छ। यसका लागि कुशाग्र बुद्धि, दूरदर्शिता र रणनीतिक सोच भएको नेतृत्व आवश्यक छ।” पन्तले ‘एआईको युगमा नेपाल’ अभियानले यस्ता जटिल राष्ट्रिय तथा भूराजनीतिक विषयमा विभिन्न राजनीतिक दल, विज्ञ, कूटनीतिज्ञ, सुरक्षा क्षेत्रका जानकार, निजी क्षेत्र र नागरिक समाजबीच संवाद अघि बढाएर राष्ट्रिय सहमति निर्माण गर्न सहजीकरण गर्न सक्ने बताए।




