काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सको अपराजित यात्रा रोकिएको छ। शनिबार भएको खेलमा काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएसँगै लुम्बिनीले जारी प्रतियोगितामा पहिलो हार बेहोरेको हो।
काठमाडौंले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १ सय २४ रनमा अलआउट भयो। सुरुवातमै धरमराएको लुम्बिनीले २८ रन बनाउँदा ६ विकेट गुमाएको थियो। त्यसपछि सन्दीप जोराले सम्हालिएर ब्याटिङ गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
लुम्बिनीका लागि जोराले ४५ बलमा ३ चौकासहित ४४ रन बनाए। अभिनाष गौतमले १६, निरोशन डिकवेलाले १४, शेर मल्लले १२ तथा रुवेन ट्रम्पलमेनले ११ रनको योगदान दिए।
काठमाडौंको जितमा जहान्दाद खान निर्णायक बने। उनले ४ विकेट लिए। करण केसीले २ तथा शहाब आलम, सन्तोष यादव, रसिद खान र शहान अराचिगले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। ओपनर डेभिड वार्नर र शाहिल पटेलले पहिलो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए। तर, मध्यक्रम र अन्तिम ओभरमा काठमाडौंले अपेक्षाअनुसार रन थप्न सकेन।
वार्नरले ५० बलमा ९ चौका र १ छक्कासहित ६६ रन बनाए। एनपीएलमा उनको यो पहिलो अर्धशतक हो। पटेलले ३६ बलमा २ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडे। शहान अराचिगले १५ बलमा आक्रामक ३४ रन बनाएपछि काठमाडौंले १ सय ६० रनको योगफल तयार पारेको थियो।
लुम्बिनीका अभिषेक गौतमले ४ ओभरमा १५ रन मात्र खर्चेर २ विकेट लिए। शेर मल्ल र रुवेन ट्रम्पलमेनले पनि समान २ विकेट लिए।
यो जितसँगै काठमाडौंले ६ अंक जोडेको छ। टोली अंकतालिकाको दोस्रो स्थानमा छ। पाँच खेलसम्म अपराजित रहेको लुम्बिनीले भने पहिलो हारसँगै आफ्नो विजय यात्रामा पूर्णविराम लगाएको छ।




