रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे चार गुणा बढ्यो, तीन महिनामै कमायो ३० करोड

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४२.६ प्रतिशतले बढेको छ। कम्पनीको सञ्चालन आम्दानीमा भएको वृद्धि र वित्तीय खर्च घटेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ८८ लाख ९० हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.८ प्रतिशतले बढेर ३ अर्ब २० करोड २९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

कम्पनीको कुल नाफा पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २९ करोड ६२ लाख ७९ हजार रुपैयाँ रहेको कुल नाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ५६ करोड १६ लाख ७९ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा १६ करोड ९१ लाख ५१ हजार रुपैयाँबाट बढेर ४० करोड ५७ लाख १५ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय खर्चमा आएको कमीले समेत नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ। गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७२ लाख ३५ हजार रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ४ करोड ३८ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ।

यससँगै कम्पनीको करअघिको नाफा ८ करोड १९ लाख १६ हजार रुपैयाँबाट बढेर ३६ करोड १८ लाख ४२ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड ६९ लाख ८२ हजार रुपैयाँ आयकर खर्च छुट्याएको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६३ रुपैयाँ ९७ पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ ४८९ रुपैयाँ ५३ पैसा रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ छ।

समीक्षा अवधिसम्म कम्पनीको कुल सम्पत्ति १४ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *