लक्ष्मी लघुवित्तको नाफा ७.६३ प्रतिशतले बढ्यो, खराब कर्जा पनि उकालो

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ९ लाख ९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यस वर्ष ७.६३ प्रतिशतले बढेको हो।

कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ रुपैयाँ ९९ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३० रुपैयाँ १३ पैसा पुगेको छ।

यद्यपि, कम्पनीको मुख्य आम्दानीका रूपमा रहेको खुद ब्याज आम्दानी भने घटेको छ। गत वर्षको पहिलो त्रैमासमा १४ करोड ७ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १२ करोड ९९ लाख ७२ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि गत वर्षको १५ करोड ४० लाख ९२ हजारबाट घटेर १४ करोड ३२ लाख ७३ हजार रुपैयाँमा झरेको छ।

खुद ब्याज तथा कुल सञ्चालन आम्दानी घटे पनि कम्पनीको सञ्चालन नाफा भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ४१ लाख ५५ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ४ करोड ७५ लाख ६ हजार रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ। कम्पनीको सञ्चित तथा जगेडा कोषमा ३ करोड ७७ लाख १७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ११ करोड ५५ लाख ५८ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीको कुल सम्पत्ति ६ अर्ब ४५ करोड ९० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा ग्राहकलाई प्रवाह गरेको कर्जा ६ अर्ब ११ करोड १४ लाख रुपैयाँ रहेको छ भने निक्षेप तथा सापटी २८ करोड ५६ लाख ८९ हजार रुपैयाँ छ।

यसैबीच, कम्पनीको खराब कर्जा अनुपात भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११.७९ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १२.१२ प्रतिशत पुगेको छ। नाफा बढे पनि खराब कर्जामा आएको वृद्धिले कम्पनीको कर्जा गुणस्तरमा दबाब कायमै रहेको देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *