तिहारका लागि राष्ट्र बैंकले आजदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गर्ने भएको छ। राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट कात्तिक १९ र २० गते दुई दिन सिक्का बिक्री गर्न लागिएको हो।

राष्ट्र बैंकका अनुसार दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद गर्न सकिनेछ। यस वर्ष लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियनका साथै सुनका असर्फी बिक्री गरिनेछ। सुनका असर्फी तयार पार्न राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेको छ।

एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा दुईवटा चाँदीका मेडालियन खरिद गर्न पाउनेछन्। चाँदीका मेडालियनमा लक्ष्मी र गणेशको आकृति अंकित हुनेछ। खरिदकर्ताले दुवै देवीदेवताको एक–एक थान मेडालियन लिन सक्नेछन्।

असर्फी तथा मेडालियनको मूल्य बिक्री हुने दिन बिहान करिब ११ बजे निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। सुनचाँदीको दैनिक बजार मूल्यका आधारमा मूल्य तय गरिने भए पनि सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्नेछ। मूल्य निर्धारण भएपछि मात्रै बिक्री सुरु हुनेछ।

सिक्का खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *