युनिलिभर नेपालको नाफा १६ प्रतिशत घट्यो, खर्च बढ्दा आम्दानीको वृद्धि कमजोर

काठमाडौं । सञ्चालन आम्दानीमा दोहोरो अंकको वृद्धि भए पनि खर्च बढेपछि युनिलिभर नेपाल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ प्रतिशतले घटेको छ। कम्पनीले असोज मसान्तसम्म २५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड रुपैयाँ नाफा कमाएको थियो।

गत वर्षको तुलनामा कम्पनीको नाफा ४ करोड ७७ लाख रुपैयाँले घटेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने १२ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ थियो।

आम्दानी बढे पनि उत्पादन तथा सञ्चालन खर्चमा भएको वृद्धिले नाफा प्रभावित भएको देखिन्छ। कम्पनीको कच्चा पदार्थ उपभोग खर्च गत वर्षको पहिलो त्रैमासको १ अर्ब ७ करोड १ लाख रुपैयाँबाट बढेर १ अर्ब ३० करोड २० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कर्मचारी खर्च १७ करोड ५८ लाख रुपैयाँबाट बढेर १८ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अन्य खर्चसमेत बढेर ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ३२ करोड २१ लाख रुपैयाँ थियो।

कम्पनीको कुल खर्च पनि उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल खर्च १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको कुल खर्च १ अर्ब ६६ करोड १ लाख रुपैयाँ थियो।

यसैगरी, कम्पनीको अन्य आम्दानी भने घटेको छ। समीक्षा अवधिमा २ करोड ६ लाख रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीले गत वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभर नेपालको सञ्चित नाफा ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *