राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) लाई व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन् । आईजीपीले कुनै अपराध गरेको भए कानुनअनुसार कारबाही गरी जेल पठाउनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको सल्लाहकार बनाएर राख्नु उचित नभएको बताएका छन् ।
आईजीपीले कुनै गल्ती नगरेको र कानुनविपरीत काम नगरेको अवस्थामा व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु सत्ताको दुरुपयोग भएको उनको भनाइ छ । ‘यदि आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो । यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो ।
भ्रष्ट आचरण हो,’ शाहीले भनेका छन् ।




