पत्रकार पक्राउप्रति रास्वपाको असन्तुष्टि, सरकारसँग माग्यो जवाफ

काठमाडौं । समाचार लेखेकै विषयलाई लिएर पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको सोधपुछ, धरपकड र पक्राउका घटनाप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असन्तुष्टि जनाएको छ । पार्टीले घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

रास्वपाका प्रवक्ता जगदिश खरेलले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सञ्चारकर्मीमाथि भइरहेका प्रहरी कारबाहीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार भएको उल्लेख गर्दै त्यसप्रति पार्टीको उच्च सम्मान र जिम्मेवारी रहेको बताएका छन् । समाचार लेखेकै वा सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिनु उचित नहुने रास्वपाको धारणा रहेको उनको भनाइ छ ।

प्रकाशित समाचारप्रति कसैको असहमति वा गुनासो भए त्यसको निरूपणका लागि कानुनले स्थापित गरेका विभिन्न वैधानिक बाटा रहेको खरेलले बताएका छन् । पत्रकारलाई गैरकानुनी रूपमा पक्राउ गर्नुको सट्टा त्यस्ता कानुनी प्रक्रियाको अवलम्बन गर्न उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

विभिन्न सञ्चारमाध्यमका पत्रकारमाथि भइरहेका कारबाहीबारे सरकारले यथार्थ सार्वजनिक गर्नुपर्ने रास्वपाको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *