ब्राजिलको चुनावबारे ट्रम्पको टिप्पणी : ‘लाजमर्दो, जनतामाथिकै अपमान’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनलाई ‘लाजमर्दो’ र ब्राजिलका जनताका लागि ‘अपमानजनक’ भएको टिप्पणी गरेका छन् ।

वासिङ्टनमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले आफूले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष नलिएको तर ब्राजिलमा भएको घटनालाई शब्दमा वर्णन गर्न कठिन भएको बताएका छन् ।

उनले भने, ‘मैले निर्वाचनमा कसैको पक्ष लिएको थिइनँ । तर ब्राजिलमा जे भयो, त्यो देखेपछि त्यसलाई शब्दमा व्यक्त गर्नै कठिन भयो ।’

भर्खरै सम्पन्न ब्राजिलको निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले शानदार पुनरागमन गर्दै राष्ट्रपति निर्वाचनमा जित हासिल गरेका थिए । योसँगै वर्कर्स पार्टीबाट प्रतिनिधित्व गर्ने ८० वर्षीय नेता लुलालाई चौथोपटक राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ ।

उनले कट्टर दक्षिणपन्थी प्रतिस्पर्धी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

लगभग सबै मतगणना सम्पन्न हुँदा आइतबार ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक ब्राजिलमा भएको निर्वाचनको दोस्रो चरणमा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी तथा जेलमा रहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत पाएका छन् ।

लुलाको जित विभिन्न निर्वाचनपूर्व सर्वेक्षणको अनुमानविपरीत आएको हो। ती सर्वेक्षणमा बोल्सोनारोलाई झिनो अग्रता दिइएको थियो ।

यसै महिनाको सुरुवातमा भएको पहिलो चरणको मतदानमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोले करिब दुई प्रतिशत विन्दुको अग्रता लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *