लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य

काठमाडौं। ओपनर लोकेश बमको उत्कृष्ट ब्याटिङको मद्दतमा विराटनगर किंग्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससामु १८७ रनको लक्ष्य खडा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो । विराटनगरका लागि ओपनर लोकेशले शानदार प्रदर्शन गरे । उनले ५२ बलमा ८७ रनको योगदान दिए । बमले ३ चौका र ९ छक्का प्रहार गरे । चौथो विकेटका लािग लोकेशले एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए ।

१६औं ओभरको पाँचौं बलमा कर्णालीका कप्तान सोमपाल कामीबाट आउट भएसँग लोकेश एनपीएलमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी बन्नबाट १३ रनले टाढा रहे । एन्जेलो २२ बलमा ३१ रनमा आउट भए । ओपनर इम्रान शेख ५, चरिथ असलंका ३ र शेहान जयसूर्या ११ रनमा आउट भए । आन्द्रे रसेल १५ बलमा २७ रन बनाएर आउट भए । बसिर अहमद १३ रनमा आउट हुँदा सुजन थपलिया अविजित रहे ।

बलिङमा कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिए । ४ ओभरमा सोमपालले ३३ रन खर्चिए । सोमपालले लोकेश, आन्द्रे, एन्जेलो र चरिथलाई आउट गराए । मार्क वार्ट र नन्दन यादवले एकएक विकेट लिए । मार्कले बलमा ओपनर इम्रान आउटको शिकार बने । नन्दनले अन्तिम बलमा बसिरलाई बोल्डआउट गरे ।

पहिलो खेलमा चितवन राइनोजसँग ९ रनले पराजित भएको विराटनगर पहिलो जितको खोजीमा छ । कर्णालीले भने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *