पहिलोपटक लाभांश बाँड्दै विकास हाइड्रोपावर, १० प्रतिशत बोनस पारित

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। आईपीओ निष्कासनपछि कम्पनीले पहिलोपटक लाभांश वितरण गर्न लागेको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

बोनस सेयर वितरणपछि पुँजी वृद्धि गर्न अधिकृत, जारी तथा चुक्ता पुँजी बढाउने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित भएको छ। सभाले सञ्चालक समितिका निर्णय अनुमोदन गर्नुका साथै संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पनि स्वीकृत गरेको छ।

अध्यक्ष खगेन्द्र न्यौपानेले अघिल्लो साधारणसभामा आर्थिक वर्ष २०८२/८३ मा दोहोरो अंकको लाभांश दिने प्रतिबद्धता पूरा गरेको बताए। उनले आगामी दिनमा उत्पादन वृद्धि, लागत न्यूनीकरण, पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। यस वर्ष बाढीपहिरोबाट आयोजनामा क्षति नपुगेको पनि उनले जानकारी दिए।

गोरखाको धार्चे गाउँपालिका–४, माछाखोलामा कम्पनीले ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ माघ १७ देखि व्यावसायिक विद्युत् उत्पादन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *