काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको बताएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले यस्तो बताएका हुन्।
ज्ञवालीले सोमबार सामाजिक सञ्जालमार्फत वाग्लेको अभिव्यक्तिलाई गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं राष्ट्रिय हितमा आँच पुर्याउने खालको टिप्पणी भनेका छन्।
उनले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित सम्बन्ध चाहेको उल्लेख गर्दै कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई सिंगो राष्ट्रको भावनाका रूपमा व्याख्या गर्न नमिल्ने बताएका छन्।
ज्ञवालीले नेपाल–भारतबीच सीमा विवाद, सन् १९५० को सन्धिका प्रावधान, व्यापार घाटा, सीमामा बनाइएका बाँधका कारण हुने डुबान र वैकल्पिक हवाई प्रवेश मार्गजस्ता विषयमा समस्या रहेको औँल्याएका छन्। यी विषयमा खुलस्त छलफल गर्नु भारतविरोध नभई नेपालको राष्ट्रिय हितको प्रश्न भएको उनको भनाइ छ।
विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्न नहुने उल्लेख गर्दै ज्ञवालीले समस्यालाई लुकाएर दुई देशबीचको सम्बन्ध बलियो नहुने बताएका छन्। उनले राष्ट्रिय हितको रक्षा गर्नु हरेक सरकारको दायित्व भएको पनि स्मरण गराएका छन्।





