काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले साइबर सुरक्षासम्बन्धी जोखिम देखिएपछि आफ्नो आधिकारिक वेबसाइट तथा अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ।
बैंकले ग्राहक तथा सरोकारवालाका नाममा सूचना जारी गर्दै विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको वेब प्रविधि (PHP) मा गम्भीर सुरक्षा संवेदनशीलता तथा जोखिमहरू देखिएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जनाएको छ। बैंकका अनुसार जोखिमको मूल्याङ्कन भइरहेको र हुन सक्ने समस्याको समाधान गरी प्रणालीलाई पूर्ण रूपमा सुरक्षित बनाएपछि मात्र वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा ल्याइनेछ।
बैंकद्वारा जारी सूचनामा ग्राहकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै यसबाट उत्पन्न असुविधाप्रति क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ। साथै, प्रणालीको सुरक्षा सुनिश्चित गरी सेवा यथाशीघ्र नियमित सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ।
बैंकको यो निर्णयसँगै ग्राहकले बैंकको वेबसाइट तथा डिजिटल माध्यमबाट उपलब्ध हुने केही सेवा प्रयोग गर्न तत्काल कठिनाइ बेहोर्नुपर्ने भएको छ। विशेषगरी अनलाइन माध्यमबाट बैंकिङ कारोबार तथा सूचना प्राप्त गर्दै आएका ग्राहक प्रभावित हुने देखिन्छन्।
विश्वव्यापी साइबर सुरक्षा चुनौती PHP प्रविधिमा देखिएका सुरक्षा कमजोरीका कारण विश्वका विभिन्न मुलुकका सरकारी निकाय, वित्तीय संस्था तथा ठूला डिजिटल प्लेटफर्महरूले समेत आफ्ना वेबसाइट र प्रणाली अस्थायी रूपमा बन्द गरेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विभिन्न देशका संस्थाहरूले सम्भावित साइबर आक्रमण रोक्न यस्तो सावधानी अपनाएका हुन्।
बैंकले जोखिम न्यूनीकरण र प्रणालीलाई सुरक्षित बनाउने उद्देश्यले मात्र सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। बैंकले थप जानकारी तथा सहायताका लागि ग्राहक सेवा नम्बर ०१–५९७०१०१ र इमेल customercare@nicasiabank.com उपलब्ध गराएको छ।





