काठमाडाैं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ ।
ग्राहकले बैंकको आधिकारिक वेबसाइट https://www.kamanasewabank.com मा उपलब्ध ‘आस्क केएस मित्र’ आइकनमार्फत, ईमेल ksmitra@kamanasewabank.com मार्फत तथा सिधै ह्वाट्सएप नम्बर ९८५१३६०००५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा आफ्नो गुनासो सम्बन्धी जिज्ञासा राख्न सक्नेछन् ।
केएस मित्र मार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवा बारे जानकारी लिन, खाता सम्बन्धी जानकारी तथा गुनासो जाहिर गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । केएस मित्र मार्फत ग्राहकहरूले बैंकका शाखा र सम्पर्क नम्बर, बैंकका सेवा तथा सुविधाहरू, ब्याजदर, सेवा-शुल्क र अन्य सामान्य जानकारी सजिलै पाउन सक्नेछन् ।
ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, कर्जाको बाँकी रकम, सिआरएन, डिम्याट, केवाईसी लगायतका जानकारी पनि लिन सक्नेछन् । त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेसा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्ने जस्ता सेवाहरू पनि लिन सक्नेछन् ।
यदि ग्राहकले केएस मित्र मार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वचालित रूपमा टिकट जारी गरिनेछ । यसबाट ग्राहकका जिज्ञासा, सेवा अनुरोध र गुनासोको फलोअप गर्न र समाधान गर्न सजिलो हुनेछ ।
डिजिटल एआई असिस्टेन्ट “केएस मित्र” सुविधा नेपालको बैंकिङ क्षेत्रमा नै नौलो र प्रभावकारी डिजिटल आयाम भएको बैंकले जनाएको छ । डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने बैंकको प्रयास अन्तर्गत ‘केएस मित्र’ सञ्चालनमा ल्याइएको हो । यस सेवाले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहज बनाउने यो पहल बैंकको ‘फ्युचर रेडी’ अवधारणा अनुरूप अघि बढाइएको हो । यसका साथै, बैंकले ग्राहकको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै विशिष्ट बचत खातामार्फत उपलब्ध गराइने ‘डोरस्टेप बैंकिङ’ सेवालाई डिजिटल नवप्रवर्तनसँग जोड्ने अवधारणालाई समेत प्राथमिकता दिएको छ ।






