दसैँ बिदाअघिको अन्तिम करोबारमा बढ्यो सेयर बजार

काठमाडौं । दसैँ बिदाअघिको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा सामान्य सुधार आएको छ। नेप्से परिसूचक ८.२३ अंकले बढेर २ हजार ६३४.१७ विन्दुमा बन्द भएको हो।

शुक्रबार बजारमा १७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ। १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। नेप्सेका १३ उपसमूहमध्ये ८ वटा बढेका छन् भने ५ वटा घटेका छन्।

म्युचुअल फन्ड समूह सर्वाधिक ०.७६ प्रतिशतले बढेको छ भने बैंकिङ समूह ०.७२ प्रतिशतले उकालो लागेको छ। यता व्यापार समूह भने सर्वाधिक ०.५४ प्रतिशतले घटेको छ।

यस दिन चिरख्वा हाइड्रोपावरका शेयरधनीले सर्वाधिक कमाएका छन्। कम्पनीको शेयर मूल्य १४.८२ प्रतिशतले बढेको छ।

यसैगरी आज हिमालयन एभरेष्ट इन्स्योरेन्सका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको शेयरभाउ ४.९८ प्रतिशतले घटेको छ।

शुक्रबार बजारमा ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ।

बजार जानकारहरूका अनुसार बाढीबाट भएको क्षति र असोज मसान्तमा बैंकको साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने दबाबले पछिल्लो समय बजार प्रभावित भएको थियो।

तर, असोज मसान्तको दबाब कम हुँदै गएको र बाढी प्रभावित क्षेत्रका ऋणीलाई साँवा–ब्याज भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले समय थप गरेकाले दसैँपछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *