सभापोखरी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

काठमाडाैं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच असोज २८ गते प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को प्रत्याभूति सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको कुल १० लाख ७५ हजार कित्ता साधारण सेयर, प्रति कित्ता १०० का दरले हुन आउने कुल १० करोड ७५ लाख रुपैयाँ बराबरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ।

गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

सभापोखरी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित आयोजना संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं. ३ मा अवस्थित ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजना हो। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेशन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। यस संस्थाले लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य सेवा, डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति सेवा, गरिमा म्युचूअल फण्ड व्यवस्थापन सहित डिपोजिटरी सेवा, धितोपत्र सेयर रजिस्ट्रेशन तथा संस्थागत परामर्शलगायतका सेवामार्फत पूँजी बजारमा आफ्नो उपस्थिति स्थापित गरेको छ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्‍याउन गरिमा विकास बैंक लिमिटेडका शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *