लाभांशसँगै ४० करोडको अग्राधिकार सेयर जारी गर्ने प्रस्तावमा मञ्जुश्री फाइनान्स

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा कात्तिक २० गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्यांक्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। प्रस्तावित लाभांशमा करसहित १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर समावेश छन्।

त्यस्तै, कम्पनीले ४० करोड रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता सेयर जारी गर्ने प्रस्ताव गरिएको हो। उक्त अग्राधिकार सेयरमा वार्षिक ८.७५ प्रतिशत लाभांश दिने प्रस्ताव छ।

हाल १ अर्ब ३६ करोड रुपैयाँ रहेको अधिकृत पुँजी बोनस सेयर समायोजन तथा अग्राधिकार सेयर जारीपछि १ अर्ब ८३ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव कम्पनीले अघि सारेको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

कम्पनीले साधारणसभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

त्यसअनुसार कात्तिक १० गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्ता प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *