काठमाडौंले मतपत्र र अङ्कमा सीमित गरेको मधेसको यथार्थलाई ‘मँगनी मरिक’ले झक्झकाइरहनेछ : जनकराज सापकोटा

काठमाडौं । पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ पुस्तक ‘मगनी मरिक’ विमोचन भएको छ । बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । विमोचनका क्रममा पुस्तकका १५० प्रति बिक्री भइसकेका छन् ।

पुस्तक विमोचनपछि बोल्दै लेखक सापकोटाले काठमाडौंमा बसेर देश विकासका ठूला कुरा गरिए पनि मधेसका दुर्गम क्षेत्रका नागरिकले अझै आधारभूत शिक्षा र स्वास्थ्य सेवाका लागि सङ्घर्ष गर्नुपरेको बताए । समाजको यही यथार्थलाई पत्रकारिताको रिपोर्टिङमा मात्र सीमित नराखी पुस्तकमार्फत प्रस्तुत गर्न ‘मगनी मरिक’ लेखेको उनले बताए ।

‘हामी काठमाडौंमा बसेर ठूला–ठूला गफ गर्छौं। ‘देश त बनाइसक्यौँ नि’ भनेर गफ दिइहाल्छौँ । तर अलिकति २०० किलोमिटर पर मधेसतिर झर्नुभयो भने थाहा हुन्छ, देश कहाँ बनेको छ । मान्छेलाई १२ कक्षा पढ्नु नै एउटा समुदायको, एउटा छोरीको लागि सबभन्दा ठूलो कथा बनिदिन्छ । अनि सामान्य आधारभूत स्वास्थ्य सुविधा उनीहरूको लागि एउटा सपनाजस्तो बनिदिन्छ,’ उनले भने ।

उनले सरकारी प्रक्रियाका कारण आवश्यक सामग्रीसमेत समयमै नागरिकसम्म पुग्न नसकेको उल्लेख गरे ।

‘जाडोमा एउटा कम्बल बाँड्नुपर्‍यो भने सरकारले लगत प्रक्रिया राख्दाराख्दै गर्मी लागिसकेपछि त्यहाँ कम्बल पुग्छ । गर्मीमा झुल बाँड्नुपर्‍यो भने सरकारी प्रक्रिया पूरा गर्दागर्दै जाडो लागिसक्छ र त्यही झुलमा उनीहरूले पराल घोचेर डफल्लो बनाएर ओढेर सुत्नुपर्छ । यो हामीले बाँचेको समाजको यथार्थ हो,’ सापकोटाले भने ।

यही यथार्थलाई कसरी प्रस्तुत गर्ने भन्ने सोचेर आफूले रिपोर्टिङमा मात्रै नलेखी पुस्तक लेख्ने निर्णय गरेको उनले बताए । ‘यो यथार्थलाई मैले कसरी लेखौँ भन्दा रिपोर्टिङमा मात्रै नलेखेर यसलाई किताबमै लेखौँ भन्ने सोचेर मैले यो ‘मगनी मरिक’ लेखेको हो,’ उनले भने ।

सापकोटाले वैदेशिक रोजगारीका क्रममा ठगिएका र समस्यामा परेका नागरिकसँगको अनुभव पनि पुस्तकमा समेटिएको बताए । उनले वैदेशिक रोजगारीका लागि कतार गएर १५ दिनमै मेडिकल फेल भई फर्किएका महोत्तरीका रामभरोस दाइसँगको प्रसङ्ग सुनाए ।

वैदेशिक रोजगारी, सामाजिक विभेद र आर्थिक अभावका कारण समस्यामा परेका मधेसका विभिन्न पात्रका अनुभव पुस्तकमा समेटिएको उनले उल्लेख गरे ।

‘तिनै पात्रहरूका जीवनका ससाना किस्साहरू, ससाना हिस्साहरू, ससाना दलनका अनुभवहरू, ससाना बहुरङ्गी स्वादहरू मैले यो किताबमा ‘मगनी मरिक’को जीवनमार्फत उधिन्न खोजेको हो,’ उनले भने ।

उनले मधेसका मरिक, डोम समुदाय जनगणनाको एउटा अङ्क र मतदाताको रुपमा मात्रै चिनिएको बताए ।

उनले भने, ‘मरिक, डोम समुदाय सधैँ अभावको जिन्दगी बाँचिरहेको छ, जसलाई काठमाडौँले एउटा मतपत्रका रूपमा मात्रै चिन्छ । जनगणनामा एउटा जनगणनाको एउटा अङ्कका आधारमा मात्रै चिनिन्छ । मतदानमा एउटा मतपत्रका नीलो धब्बा मात्रै हुन्, त्योबाहेक यो देशका लागि ती नागरिकहरू को हुन् भनेर मलाई प्रश्न गर्न मन लाग्छ । यो ‘मँगनी मरिक’को पात्रले त्यहीँ प्रश्नहरूलाई वर्षौंवर्षसम्म तपाईंहरूमाझ ल्याइरहनेछ, झक्झकाइरहनेछ।’

कार्यक्रममा चलचित्र निर्माता निर्देशक प्रदिप भट्टराई, राजनीतिज्ञ सुमिना श्रेष्ठ, जेन्जी अभियान्ता रक्षा बमलगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

लेखक सापकोटा विगत दुई दशकदेखि पत्रकारिता, साहित्य लेखन तथा प्राज्ञिक अनुसन्धानमा सक्रिय छन् । कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी मानवीय मूल्य र नागरिक न्यायका विषयमा विशेष चासो राख्छन् ।

उनका यसअघि ‘जीवन कतिपय’ (निबन्धसङ्ग्रह, २०१४), ‘कहर’ (गैरआख्यान, २०१६) र ‘नेपाली उपन्यासमा बसाइँसराइ : दुःखदेखि दुःखसम्म’ (अनुसन्धानमूलक कृति, २०१९) प्रकाशित छन् । उनले एसोसिएटेड प्रेस, अलजजिरा, एबीसी अस्ट्रेलिया, द टाइम्स र द डिप्लोम्याटलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि पनि काम गरिसकेका छन् ।

‘मगनी मरिक’ सापकोटाको पछिल्लो कृति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *