काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो हुँदा व्यापार घाटा २६ प्रतिशतले बढेर रु. ३ खर्ब २४ अर्ब ९३ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ८.६ प्रतिशतले मात्र बढेको थियो।
समीक्षा अवधिमा नेपालको कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ८८.६ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात ७०.६ प्रतिशत, चीनतर्फ १३७.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात २२.७ प्रतिशतले बढेको छ।
वस्तुगत रूपमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक सिट र पार्टिकल बोर्डको निर्यात बढेको छ। यता आयुर्वेदिक औषधि, प्रशोधित छाला, दाल, नेपाली कागज तथा जडीबुटीको निर्यात भने घटेको छ।
निर्यातमा वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा नियन्त्रणमा आउन सकेको छैन। समीक्षा अवधिमा वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात १६.२ प्रतिशतले मात्र बढेको थियो।
मुलुकगत आधारमा भारतबाट हुने आयात २७.४ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ५६.६ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल तथा सवारीसाधन र तिनका स्पेयर पार्टपुर्जाको आयात बढेको छ। त्यसैगरी, सुन, धान–चामल, हवाईजहाजका पार्टपुर्जा तथा मेडिकल सामानको आयात भने घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।





