राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला, ६ प्रतिशत ब्याज पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र आज असोज २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ हजार रुपैयाँ लगानी गर्न सक्नेछन्।

बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्र निष्कासन गरेको हो। कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात् १२ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। यसअनुसार सर्वसाधारणले एक अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र खरिद गर्न सक्नेछन्।

बाँकी ६० प्रतिशत अर्थात् १८ लाख इकाइबराबरको एक अर्ब ८० करोड रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि कात्तिक १२ गतेसम्म लम्ब्याउन सकिने व्यवस्था छ।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम निष्कासन गरिएका सबै इकाइका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ।

पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले देशका ७७ जिल्लामा ३१६ शाखा र ३३८ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ। बैंकका अनुसार उसका ग्राहकको संख्या ४९ लाखभन्दा बढी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *