काठमाडौं। विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान पुनः सञ्चालन गरेको छ।
पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको अभियान रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित गरेको थियो। नागरिकको उत्साहपूर्ण सहभागितामा अघि बढिरहेको अभियानलाई निरन्तरता दिन पुनः सञ्चालन गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।
पार्टीका सचिव केदार खड्काले विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत भ्याट हटाउने मागसहितको हस्ताक्षर अभियानलाई निरन्तरता दिइने बताए।
अभियानलाई प्रभावकारी बनाउन पार्टीले प्रदेश, जिल्ला, पालिका तथा वडा तहका सम्पूर्ण नेतृत्व, नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा तत्काल अभियान पुनः सुरु गर्न आह्वान गरेको छ।
विद्युत् महसुलमा लगाइएको भ्याट हटाउन जनसमर्थन जुटाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानलाई देशव्यापी रूपमा अघि बढाउने पार्टीको तयारी छ।





