काठमाडौं । बैंकबाट लिएको ऋण भुक्तानी हुन नसकेपछि उद्योगपति रूप ज्योति नेतृत्वको ज्योति समूहका विभिन्न कम्पनीको धितो सम्पत्ति लिलामी प्रक्रियामा पुगेको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र प्रभु बैंक लिमिटेडले ऋण असुलीका लागि ज्योति समूहसँग सम्बन्धित जग्गा तथा भौतिक संरचना लिलामी गर्ने प्रक्रिया अघि बढाएका हुन् ।
तीनवटै बैंकमा ज्योति समूहअन्तर्गतका कम्पनीले लिएको कर्जा लामो समयदेखि असुल हुन नसकेपछि बैंकहरूले सार्वजनिक सूचना जारी गर्दै धितो बिक्रीको प्रक्रिया अघि बढाएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकबाट समूहका विभिन्न कम्पनीले लिएको ५७ करोड ९० लाख रुपैयाँ कर्जा भुक्तानी नभएपछि बैंकले धितो लिलामीको प्रक्रिया अघि बढाएको छ । बैंकमा धितो राखिएको पर्साको वीरगन्जस्थित चोर्नीमा रहेको रूप ज्योतिको नामको जग्गा बिक्रीका लागि सूचना जारी गरिएको छ । कित्ता नम्बर १३ र १५ का क्रमशः ३३ हजार १७५ र २८ हजार ९५ वर्गमिटर क्षेत्रफलका जग्गा लिलामीमा राखिए पनि ऋण असुल हुन नसकेको जनाइएको छ ।
त्यस्तै, प्रभु बैंकमा धितो रहेको नर्थ फेस होटल प्रालि र नेपाल जनरल मार्केटिङ प्रालिको सम्पत्तिसमेत लिलामी प्रक्रियामा पुगेको छ । बूढानीलकण्ठ नगरपालिकाभित्र रहेका नर्थ फेस होटलका एक दर्जनभन्दा बढी कित्ताका जग्गा तथा भौतिक संरचना लिलामी गर्न बैंकले ३५ दिने, १५ दिने र अन्तिम सातदिने सार्वजनिक बोलपत्र सूचना जारी गरिसकेको छ । त्यसका बाबजुद ऋण चुक्ता नभएको जनाइएको छ ।
त्यसैगरी, नेपाल बैंकले पनि नेपाल जनरल मार्केटिङ, ग्रान्डे सिटी क्लिनिक एन्ड हस्पिटलसहित ज्योति समूहसँग सम्बन्धित ४ कम्पनीले कर्जा भुक्तानी नगरेपछि असुली प्रक्रिया अघि बढाएको छ । बैंकले रूप ज्योति, उनका छोरा अभिक ज्योति र छोरी सुरुचि ज्योतिका नाममा रहेका धितो सम्पत्ति लिलामी तथा जफत गर्ने प्रयोजनका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ ।
ज्योति समूहको कर्जा संकटसँगै बैंकबाट लिइएको ऋण निर्धारित प्रयोजनमै प्रयोग भएको थियो वा अन्यत्र लगानी गरिएको थियो भन्ने प्रश्नसमेत उठेको छ । समूहले कर्जा दुरुपयोग गरेको आरोप लागे पनि त्यसको पुष्टि भने सम्बन्धित निकायको अनुसन्धान र आधिकारिक निष्कर्षबाट हुनुपर्नेछ । नेपाल राष्ट्र बैंकलगायत नियामक निकायले यस विषयमा अनुसन्धान थालेको जनाइएको छ ।
ऋणको साँवा तथा ब्याज असुल गर्न बैंकहरूले लिलामी प्रक्रिया अघि बढाउँदा त्यसलाई रोक्न अदालतमा मुद्दा दायर गर्ने अभ्यासले असुली प्रक्रिया थप जटिल बनेको बताइएको छ ।
यस प्रकरणले बैंकहरूको कर्जा मूल्यांकन, धितोको पर्याप्तता, ऋणको उपयोग तथा भुक्तानी अनुगमनमाथि पनि प्रश्न उठाएको छ । ठूलो रकम कर्जा प्रवाह गर्दा अपनाइएका प्रक्रिया र कर्जा जोखिम व्यवस्थापन प्रभावकारी थिए कि थिएनन् भन्ने विषयले पनि नियामक निकायको भूमिकामाथि समेत आशंका उब्जाएको छ ।
बैंकहरूको प्राथमिक दायित्व निक्षेपकर्ताको रकम सुरक्षित राख्दै कर्जा असुल गर्नु भएकाले ज्योति समूहसँग सम्बन्धित कर्जा प्रकरणमा ऋणीको जिम्मेवारीसँगै कर्जा स्वीकृति, अनुगमन र असुली प्रक्रियामा संलग्न बैंकका अधिकारीहरूको भूमिकासमेत तथ्य र प्रमाणका आधारमा परीक्षण हुनुपर्ने बताइएको छ ।





