विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्।

बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्ने छन्। बैठक अवधिमा अर्थमन्त्री डा. वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

यस्तै द्विपक्षीय बैठकमा सन् २०२७ मा शक्ति राष्ट्रहरूको अन्तरसरकारी फोरम (जी २०) को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रमहरूमा पनि उनी सहभागी हुनेछन्। आर्थिक विषयहरूका साथै विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्वतयारी सम्बन्धी विशेष सत्रमा उनले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *