नेपाल बैंकको शाखाबाट नक्कली नोट दिएको भन्दै प्रहरीमा उजुरी

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरस्थित नेपाल बैंकको शाखाबाट नक्कली नोट दिइएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। एक सेवाग्राहीले बैंकबाट रकम झिक्ने क्रममा आफूलाई एक हजार रुपैयाँ दरका दुईवटा नक्कली नोट दिइएको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी मदन थापाका अनुसार ती सेवाग्राहीले गत शुक्रबार बैंकबाट १२ हजार रुपैयाँ झिकेका थिए।

बैंकले उनलाई सय रुपैयाँ दरका १० हजार रुपैयाँ र एक हजार रुपैयाँ दरका दुईवटा नोट दिएको थियो। रकम झिकेर लगेको केही दिनपछि तीमध्ये दुईवटा एक हजार रुपैयाँका नोट नक्कली भएको भन्दै सेवाग्राही प्रहरीसमक्ष पुगेका थिए। ‘उहाँहरूले पैसा झिकेर लगेको केही दिनपछि मात्रै आएर नोट नक्कली रहेछ भनेर उजुरी गर्नुभएको छ। हामीले अनुसन्धान गरिरहेका छौँ,’ सूचना अधिकारी थापाले भने। यता, बैंकका कर्मचारीले भने घटनाबारे आफूलाई विस्तृत जानकारी नभएको बताएका छन्। प्रहरीले उजुरी दिने सेवाग्राहीको नाम भने गोप्य राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *