मुगु । सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो।

पहिरोभित्र च्यापिएका चालकलाई जेसीबीको मद्दतले उद्धार गरी बिहान १०ः३० बजे बा.प्र. ०१००४ क ६४८३ नम्बरको ट्रकमा राखेर प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लैजाने क्रममा उनको अवस्था निकै चिन्ताजनक रहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा मध्याह्न १२ः१० बजे पुर्‍याउनासाथ कार्यरत चिकित्सकले चालक बिमल बागलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कायालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिएका छन ।

यस्तै घटनामा घाइते भएका सहचालकलाई उपचारका लागि खत्याड गाउँपालिका ५ माझचौरस्थित चन्दनाथ पोलिक्लीनिक पठाइएको थियो । हाल उनको अवस्था सामान्य रहेको र पोलिक्लीनिकमा उपचार भइरहेको छ ।

सडकमा पहिरो पन्छाउने काममा प्रयोग गरिएको जेसीबी भने घटनास्थलमै रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।