खानामा किरा भेटिएपछि मन्त्र थकालीलाई साढे २ लाख जरिवाना

काठमाडौँ । काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई २ लाख ५० हजार जरिवाना गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले उक्त रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

अनुगमनका क्रममा रेस्टुरेन्टको भान्साको सरसफाइ सन्तोषजनक नरहेको पाइएको छ । पकाएको खाद्यपदार्थ नछोपी भण्डारण गरेको, फ्रिज तथा भान्सामा साङ्ला र भुसुना भेटिएको र किचेनको ड्रेनेजसमेत फोहोर रहेको अनुगमन टोलीले फेला पारेको छ ।

यसका साथै फ्रिजमा खाद्यवस्तु अव्यवस्थित रूपमा राखेको, डस्टबिन खुला छाडेको र खानामा किरा पर्न सक्ने सम्भावना रहेको निष्कर्ष टोलीले निकालेको छ ।गम्भीर प्रकृतिका कमजोरी भेटिएपछि टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त व्यवसायलाई साढे दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

टोलीले मसीयुक्त कागज अर्थात् पत्रिकामा पोको पारेर राखिएको करिब एक किलो फ्राइड आलु स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै तत्कालै नष्ट गरेको छ ।

टोलीले रेस्टुरेन्ट सञ्चालकलाई पकाएको खानेकुरा राम्ररी छोपेर राख्न, कीट नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ । विभागले सात दिनभित्र सम्पूर्ण कमजोरी सुधार गरी त्यसको प्रमाणसहित उपस्थित हुन भनेको छ । विभागले चेतावनी दिँदै भनेको छ, ‘तोकिएको समयभित्र सुधार नभएमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही हुनेछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *